Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माओवादी बैठकमा कुलमानको विषय प्रवेश, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव

माओवादी बैठकमा कुलमानको विषय प्रवेश, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ ।केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।

‘विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्छ,’ मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।सोमबार मात्रै घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।

साथै, उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई एकै ठाउँमा राखेर सम्पत्ति विवरण माग्ने कार्य ठिक नभएको उनको भनाइ थियो ।‘पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा त ठिक छ,’ तामाङले भनेका छन्, ‘तर, गलत तरिकाले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा राज्यले दोषी करार गरेकालाई हामीसँगै सम्पत्ति विवरण माग्नु पनि ठिक भएन ।’

केन्द्रीय सदस्य तामाङले अब सिधै महाधिवेशनको तयारीमा जुट्नपर्ने तर्क गरेका छन् । पार्टी बैठकमा धारणा राख्नेहरूले महाधिवेशनबारे मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।केहीले तत्काल महाधिवेशन गर्नुपर्ने बताएका छन् भने केहीले अहिले अभियानमा जोडिएर महाधिवेशनको तयारी पछि गर्न सुझाव दिएका छन् ।

तामाङले बैठकमा भनेका छन्, ‘सिधै महाधिबेशनको तयारीमा जुटौं । आजको आवश्यकता यहि हो ।’उनले कार्यकारी राष्ट्रपतिको एजेण्डासहित अध्यक्ष प्रचण्ड नेतृत्वमा दुई तिहाई मत प्राप्त गर्नेगरी ०८४ को निर्वाचनमा जुट्न पनि आग्रह गरेका छन् ।

पार्टीमा दण्डहीनताको मुखदर्शक र गुटहरूको साक्षी बस्ने प्रचलन अन्त्य नगर्दासम्म विधिको कुरा गफमै स्मित हुने उनले बताएका छन् ।माओवादी निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष समेत रहेका तामाङले उमेरहदका कारण बिदा भएकाहरूलाई सबै तहमा प्राथमिकताका साथ न्यायोचित निर्णय गराएर पठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij