Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रचण्डले पार्टीलाई प्राइभेट कम्पनी बनाएको भन्दै आलोचना भइरहेको छ : प्रभाकर

प्रचण्डले पार्टीलाई प्राइभेट कम्पनी बनाएको भन्दै आलोचना भइरहेको छ : प्रभाकर

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा ‘प्रभाकर’ले पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको बताएका छन् ।काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताए ।

उपमहासचिव शार्माले बाहिर हुने गरेका त्यस्ता आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।उनले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन् ।

बैठकमा उनले विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको भन्दै अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ? भनेर प्रश्न गरेका थिए ।प्रभाकरको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने–‘अध्यक्षमा हामी कसैले दावी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो । चुनिएर आउन किन डराउनुपर्यो ।’

अरुलाई बोल्न ३ मिनेट, जनार्दनलाई १३ मिनेट ?

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

सोमबारबाट सुरु छलफलमा भाग लिन एक सय ८० जनाले नाम लेखाएका थिए । प्रत्येकलाई तीन–तीन मिनेटभित्र अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न समय निर्धारण गरिएको थियो । नाम टिपाएकामध्ये सोमबार ८० जनाले निर्धारित समयभित्रै धारणा राखे ।

नाम टिपाएका केन्द्रीय सदस्य, पोलिट्ब्युरो, हुँदै स्थायी समिति र अधिकांश पदाधिकारीले खाजा समयअगाडि नै आआफ्ना धारणा राखिसकेका छन् । उनीहरू सबैले तीन–तीन मिनेटभित्रै आफ्ना कुरा राखे ।

एक केन्द्रीय सदस्यका अनुसार उपमहासचिव जनार्दन शर्माले भने १० मिनेट बढी समय लिए । उनले बोल्ने पालो आएपछि आफ्नाबारेमा प्रश्नहरू उठेकाले तिनको जवाफ दिनुपर्ने र आफूले पनि प्रतिवेदनसहित नेतृत्वसँग जवाफ माग्नुपर्ने भएकाले समय नपुग्ने भन्दै अध्यक्षसँग समय थपको माग गरेका थिए ।

उनको मागअनुसार नै अध्यक्ष प्रचण्डले १० मिनेट थप राख्नुस् भनेपछि शर्माले १३ मिनेटसम्म बोले । खाजा समयअगाडिको छलफलमा उपाध्यक्ष कृष्णबहादुर महरा उपस्थित थिएनन् भने उपस्थित भए पनि शक्ति बस्नेतले धारणा राखेनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij