धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी कैलालीमार्फत प्रदेशस्थित सबै सरकारी अस्पतालहरूमा निःशुल्क रगत उपलब्ध गराउने भएको हो । आइतबार एक कार्यक्रमकाबिच प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो सेवाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भने, ‘आफू पदभार ग्रहण गर्दै गर्दा प्रदेशमा निःशुल्क रकमको व्यवस्था गर्ने प्रतिवद्धता अनुसार आज कार्यान्वयन गर्न गइरहेका छौँ ।’प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्यमा ९ वटै जिल्लाका अस्पतालमा सेवा उपलब्ध गराइने भएको छ ।
प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका ९ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ । सम्झौता अनुसार रगत परीक्षणमा लाग्ने प्रति पिन्ट ११५० रुपैयाँ प्रदेश सरकार व्यहोर्ने भएको हो ।
नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र कैलाली प्रमुख धरणी पन्तका अनुसार एक जना बिरामीले एक महिनामा एक पिन्ट रगत पाउनेछन् । जसको लागि बिरामीले प्रदेशमा बसोबास गरेको प्रमाण तथा नागरिकता र अस्पतालको सिफारिस पेस गरेको अवस्थामा सुविधा पाउने छन् । प्रदेश सरकारले निःशुल्क रगत सेवा उपलब्ध गराउन एक करोड बजेट विनियोजन गरेको छ । प्रदेशमा प्रति महिना एक हजार पिन्ट रगतको माग रहेको छ ।
पत्रकार उपाध्याय स्वास्थ्य दूत नियुक्त
यसैबिच पत्रकार दीपक उपाध्याय स्वास्थ्य दूतमा नियुक्त भएका छन् । नेपाल रक्तदाताका ब्रान्डएम्बेस्डर रहेका उपाध्याय प्रदेशको स्वास्थ्य दूतमा नियुक्त भएका हुन् । उनी १०७ पटक रक्तदान गरिसकेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij