बुटवल : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशका जिल्लाहरूमा वडा अधिवेशनलाई तीव्र पारेको छ । केन्द्रले तोकेको कार्यतालिकाअनुसार लुम्बिनीका विभिन्न जिल्लामा वडा अधिवेशन भइरहेको देउवा पक्षका लुम्बिनी प्रदेश नेता गेहेन्द्र गिरीले बताएका छन् ।अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी रहेका वडाहरूमा पनि सोमबार साँझसम्म सक्ने गरी नेता तथा प्रतिनिधिहरू खटाइएको गिरीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्युठानमा वडा अधिवेशन पूर्ण रूपमा सम्पन्न भई पालिका अधिवेशनसमेत सकिएको छ । अन्य जिल्लामा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ ।यस्तै रुपन्देहीमा १२५ भन्दा बढी वडाको अधिवेशन सम्पन्न भइसकेको केन्द्रबाट खटिएका डा. दामोदर भुसालले बताएका छन् । बाँकी वडाको काम सकिने बित्तिकै पालिका अधिवेशन अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक तयारीलाई तीव्र बनाएको छ । सोही योजनाअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर संगठनात्मक गतिविधि अघि बढाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij