काठमाडौं : खुलामञ्च एक चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो । तर विगत एक दशकदेखि यो ऐतिहासिक स्थल कहिले निर्माण सामग्री थुपार्ने थलो त कहिले अस्थायी बसपार्कका रूपमा प्रयोग हुँदै आएको थियो ।तर एक दशकपछि खुलामञ्चमा फेरि राजनीतिक कार्यक्रम हुन लागेको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ ।
भोलि र पर्सि बन्दसत्र सञ्चालन हुने महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल गराउने तयारी कांग्रेसको छ ।ऐतिहासिक र राजनीतिक महत्त्वको खुलामञ्च करिब एक दशकसम्म बन्द रह्यो । राजनीतिक सभा–सम्मेलनदेखि आन्दोलनको केन्द्र यही खुलामञ्च र रत्नपार्क हुने गर्थ्यो । तर २०७३ वैशाखदेखि विभिन्न बहानामा खुलामञ्च बन्द रह्यो । सोही वर्ष पुरानो बसपार्कलाई खुलामञ्चमा अस्थायी रूपमा सारियो । राजनीतिक कार्यक्रम भने २०७३ फागुन १ गते खुलामञ्चको एक कुनामा अन्तिम पटक भएको थियो, जुन सभाको आयोजना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले गरेको थियो ।
जनआवाजको स्थायी थलो
नेपाली राजनीतिको इतिहासमा खुलामञ्चको विशिष्ट स्थान छ । विशेषगरी २०३६ सालमा जनमतसंग्रहको घोषणा भएपछि यो क्षेत्र राजनीतिक कार्यक्रमहरूको मुख्य केन्द्र बनेको थियो । जनमतसंग्रहको तयारीका क्रममा जननेता बीपी कोइरालाले खुलामञ्चमा एक विशाल जनसभालाई सम्बोधन गरेका थिए । उक्त सभामा उनले बहुदलको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्दै तत्कालीन पञ्चायती सरकारलाई दूरगामी महत्त्वका निर्णय नगर्न चेतावनी दिएका थिए । यद्यपि जनमतसंग्रहको नतिजा बहुदलको पक्षमा आएन, तर खुलामञ्चले नेपाली राजनीतिमा जनआवाज बुलन्द गर्ने एउटा स्थायी थलोको पहिचान बनायो ।
२०४६ सालको जनआन्दोलन र त्यसपछिको परिवर्तनमा पनि खुलामञ्चको भूमिका अहम रह्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता शीर्ष नेताहरूले यही मञ्चबाट नागरिकलाई सम्बोधन गर्दै प्रजातन्त्रको जग बलियो बनाएका थिए । २०६२/६३ को दोस्रो जनआन्दोलनको सफलता र लोकतन्त्रको घोषणा पनि यही ऐतिहासिक स्थलबाट भएको थियो । शान्तिप्रक्रियामा आएपछि तत्कालीन माओवादी र मधेस केन्द्रित दलहरूले आफ्ना एजेन्डा राख्न पटक–पटक यही मञ्चको प्रयोग गरे । काठमाडौंका माइतीघर मण्डला र प्रदर्शनीमार्ग जस्ता क्षेत्र साँघुरा हुँदै जाँदा खुलामञ्च ठुला जनसभा र विरोध प्रदर्शनका लागि एक मात्र निर्विकल्प स्थल भए पनि प्रयोग हुन सकेको थिएन ।
खुलामञ्चको कष्टकर एक दशक
विगत १० वर्ष खुलामञ्चका लागि निकै कष्टकर रह्यो । २०७२ सालको विनाशकारी भूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कुल जस्ता ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण सुरु भयो । ती संरचना बनाउन आवश्यक इँटा, बालुवा, रड र सिमेन्ट जस्ता सामग्री राख्ने गोदामका रूपमा खुलामञ्चलाई प्रयोग गर्न थालियो । त्यसलगत्तै पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माण सुरु भएपछि बसपार्कलाई अस्थायी रूपमा खुलामञ्चभित्र सारियो । यसले गर्दा खुलामञ्चको ठुलो हिस्सा बसको पार्किङ र धुलोधुवाँले कुरूप बन्यो ।
यति मात्र होइन, खुलामञ्चलाई व्यावसायिक स्वार्थका लागि समेत प्रयोग गर्ने प्रयास भए । २०७१ सालमा काठमाडौं महानगरपालिकाले यहाँ भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो, तर सम्पदा अभियन्ता र नागरिक स्तरबाट भएको तीव्र विरोधका कारण त्यो योजना सफल हुन सकेन । तर बसपार्क सञ्चालनका क्रममा केही ठेकेदारले महानगरका कर्मचारीसँगको मिलेमतोमा खुलामञ्चभित्रै व्यावसायिक सटर र शौचालयहरू निर्माण गरेर व्यापार सुरु गरे । ऐतिहासिक स्थललाई व्यापारिक केन्द्र बनाउन खोजिएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि महानगरले डोजर चलाएर ती संरचना हटाउन बाध्य भएको थियो । यी विभिन्न अवरोधका कारण सर्वसाधारणले एक दशकसम्म यो खुला ठाउँमा प्रवेश पाउन सकेका थिएनन् ।
कस्तो छ खुलामञ्च, के छन् नियम ?
खुलामञ्चको सौन्दर्य र स्वच्छता जोगाउन महानगरपालिकाले केही कडा बन्देजहरू समेत लागू गरेको छ । अब मञ्चमा कार्यक्रम गर्दा आयोजकले आफ्नो पहिचान झल्किने ब्यानरबाहेक कुनै पनि विज्ञापनजन्य सामग्री वा होर्डिङ बोर्डहरू राख्न पाउने छैनन् । व्यावसायिक उद्देश्यले टिकट बिक्री गरेर गरिने कार्यक्रमहरूलाई पूर्णरूपमा निषेध गरिएको छ भने अनुमति लिएको पक्षले तेस्रो पक्षलाई मञ्च हस्तान्तरण गर्न पाउने छैनन् । कार्यक्रमका क्रममा उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्ने सम्पूर्ण दायित्व आयोजककै हुनेछ । थप शौचालय आवश्यक परेमा आयोजकले आफ्नै खर्चमा घुम्ती शौचालयको व्यवस्था गर्नुपर्नेछ ।मञ्चको संरचना बिग्रिने गरी खाल्डो खन्न, हरियाली नास गर्न र मञ्चभित्र सवारी साधन लैजान वा पार्किङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । साथै मञ्च क्षेत्रभित्र धुम्रपान र मदिराको बिक्री–वितरण तथा सेवनलाई समेत कानुनले निषेध गरेको छ । यी सर्तहरूको उल्लंघन भएमा महानगरले आर्थिक ऐनबमोजिम जरिवाना र कारबाही गर्ने नीति अख्तियार गरेको छ ।
आधुनिक पूर्वाधार र वातावरणमैत्री संरचना
खुलामञ्चलाई आधुनिक र वातावरणमैत्री बनाउन महानगरले प्राविधिक पक्षमा पनि विशेष ध्यान दिएको छ । कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको यस मञ्चको चौर वरिपरि चार मिटर चौडाइको व्यवस्थित पैदल मार्ग बनाइएको छ । महानगरका अनुसार सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका पुराना हेक्जागोनल ब्लकहरूलाई यहाँ पुनः प्रयोग गरिएको छ ।
Aपैदल मार्गमा रातको समयमा उज्यालोका लागि २१ वटा आधुनिक बिजुलीका पोलहरू जडान गरिएको छ, जसमा डे–नाइट सेन्सर जडान गरिएकाले रातमा आफैँ बल्ने र दिनमा आफैँ निभ्ने गर्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij