काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अब हुलाकबाट चिठी पठाउनका लागि गोश्वारा हुलाकसँग सम्झौता गरेको छ । कामपाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन सकिने व्यवस्था गरेको हो ।कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार कामपाबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ । कामपाका विभाग, महाशाखा, सचिवालय, एकाइ र आयोजनाबाट चलानी हुने पत्रलाई केन्द्रीय सम्पर्क एकाइमा सङ्कलन गरिने जनाउँदै उनले यसरी प्राप्त भएका पत्रलाई सम्बन्धित निकाय, जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइने बताए । “हुलाक कार्यालयले महानगरबाट प्राप्त हुलाक वस्तु प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्ने, पठाउने वा डेलिभरी एजेन्टमार्फत सम्बन्धित प्राप्तकर्तालाई बुझाउनेछ । वितरणपछि प्राप्त हुने भर्पाइ महानगरपालिकालाई उपलब्ध गराउने र सेवाबापतको मासिक बिलसमेत पेस गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ”, विभागका प्रमुख काफ्लेले भने ।
सम्झौताअनुसार कामपा क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘सेम डे’ (उही दिन) सेवा उपलब्ध हुनेछ। यस्तो सेवामा बढीमा दुई किलोसम्मका हुलाक वस्तु समावेश हुनेछन् । त्यसैगरी दुई किलोसम्मका पत्र वा अन्य सामानका लागि रजिस्ट्री सेवा तथा आवश्यकताअनुसार एक्सप्रेस मेल सर्भिस (द्रुत डाँक सेवा), पार्सललगायत अन्य सेवा प्रयोग गरिने काफ्लेले जानकारी दिए ।रजिस्ट्री तथा पार्सलतर्फका वस्तु अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको प्रमुख काफ्लेले जानकारी दिए । कामपाका क्षेत्रबाहेक काठमाडौँ जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरका हकमा रजिस्ट्री सेवाअन्तर्गत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गरिने सम्झौतामा उल्लेख छ । अन्य जिल्लाका लागि प्रचलित हुलाक सेवाको डाँक सञ्चालन तालिकाअनुसार सेवा हुनेछ ।
सम्झौतामा हुलाक वस्तु हराउने, च्यातिने वा टुटफुट हुने जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले सुरक्षित प्याकेजिङ गर्नुपर्ने र हुलाक कार्यालयले प्राप्तिदेखि वितरणसम्म उच्च सावधानी अपनाउनुपर्ने उल्लेख छ । प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु कामपाको सम्पर्क एकाइमा फिर्ता हुनेछ। यो सम्झौता एक वर्षका लागि गरिएको उनले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij