Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

हामी विद्यार्थीको ज्ञान जाँचिरहेका छौँ कि प्रश्न बुझ्ने क्षमता? : सांसद भट्टराई

हामी विद्यार्थीको ज्ञान जाँचिरहेका छौँ कि प्रश्न बुझ्ने क्षमता? : सांसद भट्टराई

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले उच्च शिक्षामा पाठ्यसामग्री र प्रश्नपत्र दुवै भाषामा उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूले परीक्षामा भोग्नुपरेको भाषागत जटिलतातर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्। आफू भर्खरै स्नातकोत्तर (मास्टर्स) को परीक्षा दिएर आएको प्रसङ्ग उल्लेख गर्दै सांसद भट्टराईले परीक्षा हलमा प्रश्नको भाषा नबुझेर विद्यार्थीहरू अलमलमा पर्ने गरेको अनुभव साझा गरिन्। परीक्षा हलमा छेउकी साथीले प्रश्न नै नबुझेको बताएपछि ‘हामी विद्यार्थीको विषयगत ज्ञान जाँचिरहेका छौँ कि प्रश्न बुझ्ने क्षमता?’ भन्ने प्रश्न मनमा उब्जिएको उनले बताइन्। 

आफ्नो पुस्ताले क, ख भन्दा अगाडि ए, बी, सी सिकेको र विद्यालयमा नेपाली बोल्दा जरिवाना तिर्नुपर्ने बाध्यता रहेको स्मरण गराउँदै उनले अहिले न अङ्ग्रेजीमा पूर्ण सहज हुने न नेपालीमै राम्रो हुने अवस्था बनेको टिप्पणी गरिन्। हाम्रो शिक्षा प्रणाली नै ‘नेपाङ्गलिस’ बनेको उल्लेख गर्दै उनले विश्वविद्यालयमा पाठ्यक्रम अङ्ग्रेजीमा, किताब नेपालीमा र प्रश्नपत्र फेरि अङ्ग्रेजीमा हुने रोचक तर विडम्बनापूर्ण अवस्था रहेको बताइन्।

परीक्षा हलमा विद्यार्थीले विषयको ज्ञान लेख्नुको साटो प्रश्न अनुवाद गरेर बस्नुपर्ने अवस्था दुःखद भएको उनको भनाइ छ। विगतमा एसएलसीलाई 'आइरन गेट' मानिने गरेकोमा अहिले स्नातकोत्तर पुग्दा भाषाकै अर्को पर्खाल बनाएर विद्यार्थीलाई रोक्ने काम गरिएको उनले बताइन्।संसद्‌मा बोल्दै सांसद भट्टराईले भनिन्, ‘विद्यार्थी विषय नजानेर असफल हुन जायज छ, तर प्रश्न नबुझेर होइन।’ यसैले उच्च शिक्षामा विद्यार्थीको सहजताका लागि पाठ्यसामग्री र प्रश्नपत्र दुवै भाषामा उपलब्ध गराउने व्यवस्था मिलाउन उनले मन्त्रालयसमक्ष जोडदार माग गरिन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट