Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बाढीले खानेपानीका पाइप बगाएपछि बागलुङ बजारमा पानीको संकट, दमकलबाट वितरण

बाढीले खानेपानीका पाइप बगाएपछि बागलुङ बजारमा पानीको संकट, दमकलबाट वितरण

बाढी र पहिरोका कारण खानेपानी आपूर्ति अवरुद्ध भएपछि बागलुङ बजारमा खानेपानीको संकट गहिरिएको छ। बजारमा नियमित पानी आउन छाडेपछि बागलुङ नगरपालिकाले दमकल र ट्याङ्करमार्फत उपभोक्तालाई पानी वितरण गर्न थालेको छ।

गत असोज ८ गते बागलुङ नगरपालिका–३ हनुमानमौवा क्षेत्र नजिक पहिरोले मुख्य खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि बजारमा पानीको आपूर्ति प्रभावित भएको हो। पाइप क्षतिग्रस्त भएपछि करिब ४ हजार ५ सय उपभोक्ता खानेपानीको समस्यामा परेका छन्।

नगरपालिकाले बिहीबार बिहानैदेखि दमकल र ट्याङ्कर परिचालन गरी बजारका विभिन्न स्थानमा पानी वितरण सुरु गरेको जनाएको छ। विशेषगरी खाना पकाउने र सरसफाइका लागि आवश्यक पानी उपलब्ध गराउने उद्देश्यले अस्थायी रूपमा यस्तो व्यवस्था गरिएको हो।

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अनुसार बजारमा पानी आपूर्ति हुने मुख्य चारवटै मुहानमा वर्षा र बाढीले क्षति पुर्‍याएको छ। तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोला तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाबाट ल्याइएको खानेपानीको पाइपमा समेत बाढीले क्षति पुर्‍याएको छ।

रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ। यस्तै, विभिन्न स्थानमा पाइप बग्नुका साथै मर्मत आवश्यक पर्ने अवस्था रहेको संस्थाले जनाएको छ।

लिफ्टिङ प्रणालीमार्फत काठेखोलाबाट ल्याइएको पानी कैलामपोखरी, सुल्डाँडा र मुश्यास्वारा हुँदै ट्याङ्कीमा पुर्‍याउने व्यवस्था रहे पनि मुख्य पाइपमै क्षति पुगेपछि नियमित आपूर्ति प्रभावित भएको हो।क्षतिग्रस्त पाइप मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइए पनि तत्काल पूर्ण रूपमा पानी आपूर्ति सहज हुने अवस्था नरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij