काठमाडौँ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक गाडीमा दुई चालक राख्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको छ।
यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउन लागेको हो। यसका लागि ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ।
चाडपर्वका वेला यात्रुको चाप बढ्ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न कडाइ गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।
लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा दुई चालक भए–नभएको विषयमा ट्राफिक प्रहरीले नियमित जाँच गर्नेछ। एकजना मात्रै चालक राखेर गाडी चलाउने कारबाही गरिनेछ। दुई चालकको व्यवस्था कार्यान्वयन भएमा चालकले पालैपालो सवारी चलाउन सक्ने र लामो यात्रामा चालकको थकान व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यात्रुलाई सुरक्षित यात्रा गराउने, सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ। मुख्य सडक, सवारी आवागमन बढी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने जनाइएको छ।
यसैगरी यात्रुबाट बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij