चितवन :नारायणी नदीमा आएको भीषण बाढीले गैँडाकोटबाट बगाएर नारायणी पुलको अन्तिम पिल्लरमा अड्काएको क्रुजको भविष्य अन्योलमा परेको छ। पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी रहे पनि त्यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लागिसकेको छैन।
पानीजहाजजस्तो देखिने तर मनोरञ्जन तथा पर्यटनका लागि सञ्चालन हुँदै आएको नेपालकै पहिलो क्रुज आइतबार आएको बाढीले गैँडाकोट स्टेसनबाट बगाएको थियो। बग्दै आएको क्रुज करिब ३ सय मिटर तल नारायणी पुलको अन्तिम पिल्लरमा ठोक्किएर अड्किएको हो।
९५ फिट लामो, २१ फिट चौडा तथा २१ फिट अग्लो र करिब ६० टन तौलको क्रुज पुलको पिल्लरमा ठोक्किएपछि पुलको सुरक्षालाई लिएर समेत चिन्ता बढेको थियो। त्यसपछि प्रशासनले क्रुजलाई सकेसम्म चाँडो हटाउने प्रयास थालेको थियो।
सोमबार ८० टन र ३५ टन क्षमताका दुईवटा क्रेन तथा थप मेसिनको सहायताले क्रुज तान्ने प्रयास गरिएको थियो। तर लामो प्रयासपछि क्रुजलाई पिल्लरबाट करिब चार मिटर मात्रै सार्न सकिएको थियो। मंगलबार थप क्रेन र र्याकरको सहायताले क्रुज निकाल्ने प्रयास भइरहेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्रुज केही मिटर सारिएपछि पुलको पिल्लरमा तत्काल गम्भीर असर नपरेको देखिएको छ। थप प्राविधिक अध्ययन हुने भए पनि तत्कालका लागि पुलमा रहेको जोखिम टरेको उनले बताएका छन्।
पुलको अवस्थाबारेको अन्योल केही हटे पनि क्रुजको भविष्य भने अझै निश्चित छैन। क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलले अहिले पहिलो प्राथमिकता क्रुजलाई सुरक्षित रूपमा निकाल्नु रहेको बताए।
‘पहिला यो अवस्थाबाट पार हौँ। पुलको सुरक्षा मुख्य हो,’ ढुंगेलले भने। बाढीका कारण आफूहरू ठूलो क्षतिमा परेको भन्दै उनले राज्यसँग सहयोगका लागि पहल गर्ने र राज्यबाट सहयोग पाए पुनः अघि बढ्ने बताए । क्रुज यसअघि भरतपुर महानगरपालिका–१६, मंगलपुर शिवघाटनजिक काब्रेघाटबाट सञ्चालन हुँदै आएको थियो। गत वर्षको माघमा यसलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट सारिएको थियो। क्रुज सञ्चालकहरूले गैँडाकोटस्थित होटल रिभर क्राउन प्रालिको व्यवस्थापनसमेत गर्दै आएका थिए। क्रुजलाई होटलसँग जोडेर पर्यटकीय गतिविधि विस्तार गर्ने योजना रहेको ढुंगेलले बताए। दसैँलगत्तै नयाँ कार्यक्रमसहित सञ्चालन विस्तार गर्ने तयारी भइरहेका बेला अप्रत्याशित बाढीले ठूलो क्षति पुर्याएको उनको भनाइ छ। क्रुजलाई टुचन लगाएर रुख तथा पुलका संरचनामा बाँध्ने गरिएको भए पनि ठूलो बाढी आउँदा सबै संरचना बगाएर लगेको ढुंगेलले बताए।
करिब चार वर्ष लगाएर भारतको केरलाबाट आएका प्राविधिकको सहयोगमा काब्रेघाटमै निर्माण गरिएको क्रुजमा दुई सय जनासम्म यात्रु अट्ने क्षमता छ। करिब १५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको क्रुजले २०७६ सालको हिउँददेखि परीक्षण सञ्चालन थालेको थियो भने २०७९ माघ १ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको थियो।
विदेशमा क्रुज सेवा सञ्चालन भएको देखेर ३० जना साझेदार मिलेर कम्पनी स्थापना गरी स्वदेशमै नयाँ पर्यटन व्यवसाय सुरु गरिएको ढुंगेलले बताए। क्रुजमा ब्रेकफास्ट, लन्च तथा डिनर क्रुजिङका साथै विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव र वैवाहिक वार्षिकोत्सवजस्ता कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था थियो। ठूलो लगानी भए पनि अपेक्षाअनुसार आम्दानी लिन नसकेको सञ्चालकको भनाइ छ। नारायणगढ क्षेत्रमा व्यवसाय विस्तार गरेपछि व्यापार बढ्ने अपेक्षा गरिएको अवस्थामा बाढीले क्रुजलाई नै संकटमा पारेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij