Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको मृत्यु

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको मृत्यु

विराटनगर : तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । कोइरालाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति तास खेलिरहेको अवस्थामा पक्राउ परेका कोइरालासहित आठ जनालाई प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिहरूले चिया खान उठाउन खोज्दा उनी नबोलेपछि अचेत अवस्थामा रहेको थाहा भएको थियो ।

त्यसपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरिएको थियो । नोबेलमा उपचारकै क्रममा बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति प्रहरीको गस्ती टोली पुग्दा भागदौड भएको थियो । प्रहरी आएको भन्दै होहल्ला भएपछि भाग्न खोज्ने क्रममा कोइराला लडेको उनले बताए । प्रहरीका अनुसार यसअघि सडक दुर्घटनामा परी कोइरालाको टाउकोको शल्यक्रियासमेत गरिएको थियो ।

सोही घटनामा प्रहरीलाई छल्न घरको दुई तलामाथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घाइते भएका छन् । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको हामफाल्ने क्रममा दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।उनको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मुखियाको अवस्था खतरामुक्त छ ।सोमबार राति करिब साढे ११ बजे भएको उक्त कारबाहीका क्रममा प्रहरीले घटनास्थलबाट तास र नगद ४८ हजार ३९५ रुपैयाँ बरामद गरेको थियो । प्रहरीले घटनास्थलबाट आठ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकामध्ये कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ भने मुखिया घाइते अवस्थामा अस्पतालमा उपचाररत छन् । अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।हिरासतमा रहेका व्यक्तिहरूमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल तथा ४३ वर्षीय विष्णु कामत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij