Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

निशोध दीप सापकोटा लेख्छन् : खतरा आज देखिएको मात्र हो; चेतावनी भने धेरैअघि नै !!

निशोध दीप सापकोटा लेख्छन् : खतरा आज देखिएको मात्र हो; चेतावनी भने धेरैअघि नै !!

 चितवन : यो घटना आज अचानक भएको होइन। खतरा आज देखिएको मात्र हो; चेतावनी भने धेरैअघि नै दिइएको थियो। नारायणीको बहाव, बाढीको सम्भावना र क्रुजजस्तो ठूलो संरचना नदीमा रहँदा उत्पन्न हुन सक्ने जोखिमबारे स्थानीयस्तरमा धेरैपटक आवाज उठेको थियो। बाढीको जोखिमबारे सम्बन्धित निकायहरूलाई केही साताअघि नै सतर्क गराइएको थियो। त्यसपछि स्थानीय प्रशासन र सम्बन्धित निकायले के कदम चाले? यही प्रश्नको जवाफ अब खोजिनुपर्छ।

बाढी आउँछ भनेर आकाशले पहिले नै संकेत दिइसकेको हुन्छ। नदीको पानी बढ्दैछ भन्ने देखिन्छ। जोखिममा रहेको संरचना पनि आँखैअगाडि हुन्छ। तर हाम्रो प्रशासन किन सधैं दुर्घटना भएपछि मात्रै सक्रिय हुन्छ?

आज राइनो क्रुज नारायणी पुलमा अड्किएको छ। पुलमा जोखिम सिर्जना भएको छ। अब उद्धार टोली, प्रशासन, सुरक्षा निकाय र प्राविधिकहरू सक्रिय भएका छन्। तर यही सक्रियता केही दिनअघि देखाउन सकिएको भए आज यो अवस्था आउँथ्यो कि आउँदैनथ्यो?

गल्ती कसको हो भन्ने फैसला सामाजिक सञ्जालले गर्ने होइन। तर जिम्मेवारीबाट कोही भाग्न पनि पाउनु हुँदैन। क्रुज सञ्चालकले नियम पालना गरे कि गरेनन्—त्यसको छानबिन होस् । स्थानीय प्रशासनले के अनुमति दियो—त्यसको पनि छानबिन होस्।

सम्बन्धित सुरक्षा निकायले दिएको चेतावनी र जोखिम मूल्यांकन के थियो—त्यो पनि सार्वजनिक होस्। बाढीको पूर्वसूचना पाएपछि के-के तयारी गरियो र किन समयमै क्रुज सुरक्षित स्थानमा सारिएन—जनताले यसको जवाफ पाउनुपर्छ।

हामीले हरेक विपत्तिपछि एउटा व्यक्तिलाई देखाएर सबै दोष त्यहीँ थोपर्ने संस्कार बन्द गर्नुपर्छ। व्यवस्था असफल हुँदा व्यक्ति मात्र दोषी हुँदैन; निर्णय गर्ने, अनुमति दिने, निगरानी गर्ने र जोखिम देखेर पनि निष्क्रिय बस्ने सबै तहको भूमिका जाँचिनुपर्छ। आज प्रश्न एउटा क्रुजको मात्र होइन। आज प्रश्न हाम्रो ‘पहिले दुर्घटना, पछि तयारी’ गर्ने प्रशासनिक संस्कारको हो।

अहिले पहिलो प्राथमिकता पुल र मानवीय सुरक्षाको हो। त्यसपछि निष्पक्ष छानबिन होस् र जसको जति जिम्मेवारी देखिन्छ, उसले त्यति नै जवाफदेहिता वहन गरोस्। चेतावनी बेवास्ता गरेर विपत्ति निम्त्याउने अनि विपत्ति आएपछि मात्र उद्धारमा दौडिनु तयारी होइन। त्यो केवल क्षतिको व्यवस्थापन हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij