Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदी बने ‘बेस्ट पुलिस अफ द मन्थ’

तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदी बने ‘बेस्ट पुलिस अफ द मन्थ’

तनहुँ : तनहुँको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २०८३ भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले संगठनको नीति तथा निर्देशनअनुसार पदीय जिम्मेवारी इमानदार, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको भन्दै सुवेदीलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुवेदीले भदौ महिनामा विभिन्न प्रकारका अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, फरार प्रतिवादी पक्राउ गर्न तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

यसैगरी, भोटेकोशी बाढीमा परी मृत्यु भएका ३८ जनाको शव निकाल्ने कार्यमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विपद्का समयमा उद्धार तथा सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनको कार्यसम्पादनको उच्च मूल्यांकन गरेको जनाएको छ ।

सुवेदीको नेतृत्वमा भएका कार्यहरूको मूल्यांकन गर्दै उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उत्कृष्ट प्रदेश प्रहरी छनोट भएकोमा प्रहरी निरीक्षक सुवेदीलाई बधाई दिएका छन् ।

सुवेदी हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रमुखका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij