Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अमेरिका–चीनबिच ६० अर्ब डलरका सामानमा भन्सार घटाउने सहमति

अमेरिका–चीनबिच ६० अर्ब डलरका सामानमा भन्सार घटाउने सहमति

बेइजिङ : अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब ६० अर्ब अमेरिकी डलर मूल्यका विभिन्न वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने सहमति गरेका छन् । सहमतिअनुसार दुवै देशले ३०–३० अर्ब डलर बराबरका गैरसंवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्ने भएका हुन् । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार यसबाट चीनमा निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब ३० प्रतिशतले बजार पहुँचमा सुधार पाउनेछन् ।

चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेललगायत कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको छ । तर सोयाबिन भने सूचीमा समावेश गरिएको छैन । त्यस्तै, चीनले अमेरिकी माछा तथा समुद्री खाद्य पदार्थ, काठ तथा काठजन्य सामग्री, सौन्दर्य सामग्री र चिकित्सा उपकरणमा समेत भन्सार घटाउने तयारी गरेको छ । अमेरिकाले भने चीनबाट आयात हुने कफी बनाउने उपकरण, टोस्टरजस्ता साना घरेलु उपकरण, टेबलवेयर, कम्बल तथा ओछ्यानका कपडामा पारस्परिक भन्सार कटौती गर्ने भएको छ । अमेरिकाले भन्सार घटाउने सूचीमा खेलौना, आतसबाजी, कृत्रिम फूल, क्रिसमस रूखमा प्रयोग हुने बत्ती तथा अन्य सजावटी सामग्री र बालबालिकाका कार सिटसमेत समावेश गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच गत साता वासिङ्टनमा भएको यस वर्षको दोस्रो शिखर बैठकपछि व्यापारसम्बन्धी सहमति सार्वजनिक भएको हो ।

व्यापार युद्धविराम थप दुई महिना

अमेरिका र चीनबिच जारी व्यापार युद्धविरामलाई थप दुई महिना लम्ब्याउने सहमति पनि भएको छ । चीनको वाणिज्य मन्त्रालयका अनुसार युद्धविरामको अवधि जनवरी १० सम्म कायम रहनेछ ।
मन्त्रालयले यस अवधिले दुवै पक्षलाई आर्थिक तथा व्यापारिक समस्या समाधानका लागि भइरहेको व्यवस्थाको समीक्षा गर्न र थप सहकार्यका विषयमा छलफल अघि बढाउन समय उपलब्ध गराउने जनाएको छ । व्यापार युद्धविरामको विस्तारले दुवै देशका कम्पनीबिच सहकार्य र निरन्तर वार्ताका लागि तुलनात्मक रूपमा स्थिर तथा पूर्वानुमानयोग्य नीतिगत वातावरण सिर्जना गर्ने चीनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij