राजेन्द्र आचार्य , चितवन : चितवनमा सोमबार बिहानदेखि मौसममा सुधार आएको छ । आकाश खुलेसँगै घाम लाग्न थालेको छ भने नारायणी नदीको जलसतह पनि तीव्र रूपमा घटेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार नारायणीमा पानीको सतह अहिले ९ मिटरभन्दा तल झरेको छ । देवघाटस्थित जलमापन केन्द्रका अनुसार अहिले ११ बजे ७।७३ ५३ मिटर मापन गरिएको भने आजै बिहान साढे ६ बजे नारायणीको सतह ८ दशमलव ५३ मिटर मापन गरिएको थियो ।
देवघाटमा नारायणीको पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ । आइतबार बिहान सोही समयमा नदीको सतह ११ दशमलव ९३ मिटर पुगेको थियो । २४ घण्टाको अवधिमा नदीको सतह करिब साढे ३ मिटर घटेको हो ।
निरन्तरको वर्षापछि आएको बाढीका कारण अवरुद्ध भएका मुख्य राजमार्ग खुलाउने प्रयास भइरहेको छ । मौसममा सुधार आएपछि मानिसहरू पनि विस्तारै सामान्य दैनिकीमा फर्किन थालेका छन् ।
जलमापन केन्द्रको रेकर्डअनुसार सोमबार बिहान नारायणीमा पानीको बहाव ५ लाख २४ हजार क्युसेक रहेको जनाइएको छ । वर्षा रोकिएसँगै नारायणीको जलसतह स्वात्तै घटे पनि नदी आसपासका बस्तीमा भने सतर्कता आवश्यक रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij