हेटौँडा : लगातारको वर्षासँगै कुलेखानी जलाशयको पानीको सतह बढ्दै गएको छ। आइतबार दिउँसो २ बजेसम्म जलाशयको सतह १५२६.४९ मिटर पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार हाल भइरहेको पानीको बहाव र जलाशयको वृद्धिदर कायम रहे आज साँझ ६ देखि ७ बजेसम्म जलसतह १५२७ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलसतह १५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने व्यवस्था छ।
मौसममा क्रमिक सुधार देखिए पनि जलाधार क्षेत्रमा आज राति वा भोलिसम्म अप्रत्याशित भारी वर्षा भए जलाशयको सुरक्षा तथा पानीको सतह सन्तुलन कायम राख्न स्पिलवे गेट खोल्नुपर्ने अवस्था आउन सक्ने केन्द्रले जनाएको छ।
स्पिलवे गेट खोल्नुपर्ने अवस्था आए सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राखेर प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ। गेट खोल्नुअघि पूर्वसूचनाअनुसार थप चरणको साइरन बजाइने तथा एसएमएस अलर्टसमेत प्रवाह गरिनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij