Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

क्यान्सर अस्पताललाई ‘भर्तिकेन्द्र’ बनाउने छुट छैन : सुशिल कार्की ‘अब्दुल’

क्यान्सर अस्पताललाई ‘भर्तिकेन्द्र’ बनाउने छुट छैन : सुशिल कार्की ‘अब्दुल’

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पछिल्ला नियुक्तिलाई लिएर प्रश्न उठाउँदै अखिल (क्रान्तिकारी) चितवनले नियुक्ति प्रक्रिया, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया तथा मूल्याङ्कनका आधार सार्वजनिक गर्न कडा माग गरेको छ।

अखिल (क्रान्तिकारी) चितवन जिल्ला समिति अध्यक्ष सुशिल कार्की ‘अब्दुल’ले क्यान्सर अस्पतालजस्तो संवेदनशील सार्वजनिक संस्थामा हुने नियुक्ति कुनै पनि राजनीतिक पहुँच, नातासम्बन्ध वा व्यक्तिगत प्रभावका आधारमा नभई स्पष्ट मापदण्ड र योग्यताका आधारमा हुनुपर्ने बताएका छन्।

रास्वपा केन्द्रीय कोषाध्यक्ष मनोहर प्रधानकी भतिजीको नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले उक्त नियुक्तिको वास्तविकता, पद, योग्यता तथा छनोटको आधार सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने बताए। त्यसैगरी, रास्वपा नगर महाधिवेशन प्रतिनिधि पशु चिकित्सकलाई क्यान्सर हस्पिटल को बोर्ड सदस्य मा नियुक्तिबारे समेत प्रश्न उठेकाले कुन पदमा, कुन योग्यता र कुन मापदण्डका आधारमा नियुक्ति गरिएको हो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उनको माग छ।

“गैरराजनीतिक र योग्यतामा आधारित नियुक्तिको कुरा गर्ने, तर सार्वजनिक संस्थामा आफ्ना कार्यकर्ता भर्ती गर्ने अभ्यास दोहोरिने हो भने त्यसले गम्भीर प्रश्न उठाउँछ। जनताले कुनै दललाई आफ्ना कार्यकर्ता भर्नका लागि सार्वजनिक संस्थाको जिम्मा दिएका होइनन्,” कार्कीले भने।

उनले सार्वजनिक संस्थामा नियुक्ति गर्दा राजनीतिक निकटता होइन, योग्यता, अनुभव, क्षमता र पारदर्शी प्रतिस्पर्धालाई आधार बनाउनुपर्ने बताए।

“क्यान्सर अस्पतालमा बिरामीको उपचार महत्वपूर्ण हो कि नियुक्तिकर्ताको ‘ज्ञान’ प्रदर्शन? जनतालाई भेडा सम्झेर जे गरे पनि हुन्छ भन्ने नसोचियोस्,” अध्यक्ष कार्कीले भने।

उनले जेन–जी आन्दोलनले उठाएको पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको मागलाई कमजोर बनाउने कुनै पनि अभ्यास स्वीकार्य नहुने चेतावनी दिए।

“जेन–जीको रगतसँग खेलाँची नगर। परिवर्तनको नाममा पुरानै नियुक्ति संस्कार दोहोर्‍याएर सार्वजनिक संस्थालाई कुनै दलको ‘भर्तिकेन्द्र’ नबनाऊ। रास्वपाको होस् वा अरू कसैको—सार्वजनिक संस्था कुनै राजनीतिक भर्तीकेन्द्र बन्न दिइँदैन,” कार्कीले कडा चेतावनी दिए।

अखिल (क्रान्तिकारी) चितवनले अस्पतालमा भएका पछिल्ला नियुक्तिसम्बन्धी आवेदन प्रक्रिया, आवेदक संख्या, योग्यता, छनोट मापदण्ड, मूल्याङ्कन प्रक्रिया, प्राप्ताङ्क तथा अन्तिम निर्णयको आधार सार्वजनिक गर्न माग गरेको छ।

अध्यक्ष कार्कीले पारदर्शिता र जवाफदेहिता कायम नभएसम्म अपारदर्शी नियुक्ति संस्कारविरुद्ध निरन्तर खबरदारी गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij