असोज : भरतपुर अस्पतालले विपद्जन्य घटनाबाट हुन सक्ने जनधनको क्षति तथा बिरामीको चाप व्यवस्थापनका लागि आफ्नो विपद् व्यवस्थापन समिति पुनर्गठन गरेको छ। अस्पतालले बाढी, पहिरो, आगलागी, भूकम्प तथा सडक दुर्घटनाबाट घाइते हुनेको उपचार र व्यवस्थापनलाई ध्यानमा राख्दै आवश्यक तयारी स्वरुप समिति पुनर्गठन गरेको हो ।
अस्पतालकाअर्थोपेडिक सर्जन डा. मनोज कँडेललाई समितिको संयोजक तोकिएको छ। समितिमा अस्पतालका विभिन्न विभाग तथा शाखाका प्रमुख र जिम्मेवार अधिकारीलाई सदस्यका रूपमा समेटिएको छ। समितिको सदस्य सचिवमा अस्पताल प्रशासक डा साइदिप घिमिरे तोकिनु भएको छ ।
समितिको सदस्यमा जनरल सर्जन डा. दीपेन्द्र न्यौपाने, फरेन्सिक विभाग प्रमुख डा. सुरज शर्मा, इमरजेन्सी विभाग प्रमुख डा. सुरेशकुमार प्रधान, एमडिडिपि डा. आमिर बर्ताैला, एनेस्थेसियोलोजिष्ट डा. रिजु राना, अप्रेसन थिएटर इन्चार्ज मिरा अधिकारी, अस्पताल व्यवस्थापक डा. सफल अधिकारी सदस्य हुनुहुन्छ । यसैगरी शाखा अधिकृत हरिप्रसाद पराजुली, सामाजिक सेवा इकाई प्रमुख रामहरी ढकाल, सहायक व्यवस्थापक केशव सापकोटा, लेखापाल नविन भण्डारी, नर्सिङ इन्चार्ज इमरर्जेन्सी सभ्यता चौधरी, फार्मेसी प्रमुख वेदप्रसाद न्यूरे, स्टोर प्रमुख रमेश कुँवर, हाउस किपिङ प्रमुख धनबहादुर खड्का, सहायक व्यवस्थापक संजय बराल, ब्लड बैंक इन्चार्ज विष्णुप्रसाद बास्तोला रहनु भएको छ ।
अस्पतालले सम्भावित विपद्बाट घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक उपचार सामग्रीको पर्याप्त मौज्दात व्यवस्थापन गर्न निर्देशन दिईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले बताउनुभयो । बाढी, पहिरो, आगलागी, भूकम्प तथा सडक दुर्घटनाजस्ता प्राकृतिक तथा अन्य विपद्बाट घाइते भएकाहरूको उपयुक्त व्यवस्थापन र आवश्यक उपचारका लागि चाहिने अत्यावश्यक उपचार सामग्रीको मौज्दात व्यवस्थापन गरी उपचारका लागि पूर्ण तयारी अवस्थामा रहन भनिएको मेसु बगालेले बताउनुभयो ।
यसले सम्भावित विपद्को समयमा आकस्मिक कक्षमा बिरामीको चाप बढेमा तत्काल उपचार सेवा सञ्चालन गर्न अस्पतालले पूर्वतयारी थालेको देखिन्छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने र केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताइएको छ। मौसमविद्हरूले बंगालको खाडीमा विकसित मौसमी प्रणालीका कारण नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने भन्दै पूर्वतयारी र सतर्कतामा जोड दिएका छन्।
मौसमविद्हरूका अनुसार वर्षाको प्रभाव सबै स्थानमा समान नहुन सक्छ। केही स्थानमा अत्यधिक वर्षा हुँदा बाढी, डुबान, पहिरो, कटान तथा सडक अवरोध जस्ता जोखिम बढ्न सक्छन्। विशेषगरी नदी तथा खोलानाला आसपास र पहाडी भूभागमा सावधानी अपनाउनुपर्ने अवस्था हुन सक्छ।
भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिम बढ्दा अस्पतालमा घाइते तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको चाप बढ्न सक्ने भएकाले भरतपुर अस्पतालले तयारी गरेको मेसु बगालेले बताउनुभयो । उहाँले भन्नुभयो “आवश्यकता अनुसार आकस्मिक कक्ष परिसरमा थप शैया समेत व्यवस्थापन गर्न सक्ने गरी तयारी गरेका छौं ।” वर्षाका कारण सडकमा आवागमन प्रभावित हुँदा दुर्घटनाको जोखिम बढ्न सक्ने, पहिरो तथा डुबानका कारण उद्धार तथा बिरामी ओसारपसारमा समस्या आउन सक्ने भएकाले अस्पतालले जनशक्ति, औषधि तथा उपचार सामग्रीलाई तयारी अवस्था राखेको उहाँको भनाई छ ।
यसअघि पनि सम्भावित भारी वर्षालाई ध्यानमा राखेर स्वास्थ्य संस्थाहरूलाई आवश्यक तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिइएको छ। स्वास्थ्य मन्त्रालयले बाढी, पहिरोलगायत विपद्का कारण दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij