चितवन : चितवनका सात पालिकाका स्वास्थ्य शाखा मध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा पहिलो बनेको छ । जनस्वास्थ्य कार्यालय चितवनले विभिन्न आधारमा गरेको मूल्यांकनमा माडी पहिलो बनेको हो ।
जनस्वास्थ्य कार्यालय चितवनले २०८२–२०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय समीक्षा कार्यक्रमको समापन कार्यक्रममा माडी ८६.१० अंकसहित पहिलो, भरतपुर ८५.४३ अंक सहित दोस्रो र खैरहनी ८२ अंक सहित तेस्रो बनेका हुन् । पालिकाहरुको स्वास्थ्य सेवाका सूचकहरु तथा प्रस्तुतीकरण समेतको मूल्यांकनको आधारमा नतिजा प्रकाशित गरिएको हो ।
प्रथम, द्वितीय र तृतीय हुने शाखालाई बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)ले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, तालिम केन्द्रका प्रमुख दीपक तिवारी, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे लगायतका अतिथिहरुले बधाई ज्ञापन गर्नुभएको थियो । हिजोबाट शुरु भएको समीक्षा कार्यक्रम आज सम्पन्न भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij