चितवन : बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)ले बकुलहर रत्ननगर अस्पतालमा सिटी स्क्यान सेवा र माडी अस्पतालमा शव गृह निर्माण गरिने बताउनु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले २०८२–२०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय समीक्षा कार्यक्रमको समापन कार्यक्रमलाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री तामाङले अस्पतालहरुको आवश्यकता अनुसारको सेवा विस्तार गर्दै लैजाने बताउनु भएको हो ।
रत्ननगर बकुलहर अस्पतालमा सिटी स्क्यान सेवा, मोडुलर ओटी (अत्याधुनिक शल्यक्रिया कक्ष) आवश्यक रहेको भन्दै उहाँले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । उक्त अस्पतालमा एक सय शैयाको दरबन्दीको विषय पनि आफूले सम्बोधन गर्ने उहाँको भनाई छ । आगामी सोम, मंगलबारभित्रमा दरबन्दीको विषय सम्बोधन भईसक्ने पनि उहाँले बताउनुभयो ।
ग्रामीण क्षेत्रबाट उपचारका लागि आउने गर्भवती महिलाहरुको लागि एउटा ‘आमा घर’ आवश्यक रहेको पनि मन्त्री तामाङले बताउनुभयो । उहाँले भन्नुभयो “आमा घर निर्माणको विषयमा सम्बन्धित शाखाका साथीहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं ।” छात्रावृत्ति करारका स्वास्थ्यकर्मीहरुलाई पनि स्थानीय तहसम्म खटाउनु पर्नेमा मन्त्री तामाङको जोड छ ।
माडीमा शवगृह नभएकाले गाह्रो परिरहेको भन्दै मन्त्री तामाङले भन्नुभयो “माडीमा भएको शवलाई भरतपुर ल्याएर पोष्टमार्टम गरेर पुनः माडी लैजानुपर्ने बाध्यता छ ।” यसको अन्त्यका लागि माडीमा शव गृह निर्माण गर्ने कार्यका लागि प्रक्रिया अगाडि बढाईसकेको उहाँको भनाई छ ।
जनस्वास्थ्य कार्यालय चितवनले २०८२–२०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय समीक्षा कार्यक्रमको समापन कार्यक्रममा माडी ८६.१० अंकसहित पहिलो, भरतपुर ८५.४३ अंक सहित दोस्रो र खैरहनी ८२ अंक सहित तेस्रो बनेका छन् ।
प्रथम, द्वितीय र तृतीय हुने शाखालाई बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री तामाङले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, तालिम केन्द्रका प्रमुख दीपक तिवारी, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे लगायतले सम्बोधन गर्नुभएको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij