Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवन मेडिकल कलेजद्वारा बाढी प्रभावित क्षेत्रमा पुगेर ६७५ जना बिरामीलाई सेवा

चितवन मेडिकल कलेजद्वारा बाढी प्रभावित क्षेत्रमा पुगेर ६७५ जना बिरामीलाई सेवा

चितवन  : चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको चिकित्सक टोली बाढी प्रभावित नुवाकोट पुगेर ६७५ जना बिरामीलाई सेवा दिएको छ । अस्पतालको २१ सदस्यीय चिकित्सक–स्वास्थ्यकर्मीको टोली नुवाकोटका विभिन्न ठाउँमा एक सातासम्म बसेर बिरामीको उपचारमा खटिएको हो ।

चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत (सिईओ) प्रताप देवकोटाका अनुसार भदौ ३१ गते चितवनबाट हिँडेको टोली असोज ६ गतेसम्म सेवा खटिएको थियो । चिकित्सक टोलीमा मुटुरोग, जनलर मेडिसिन, सर्जरी, हाडजोर्नी, मनोरोग, आँखा रोग लगायत विशेषज्ञ रहनु भएको थियो । टोलीमा डा. वीरेन्द्र राउत, दीपक बम, डा. दीपेश कोइराला, अशोक आचार्य, डा. चन्दन जैसवाल, महेश कुमार शाही, विकास पटेल, रोशन चौधरी, निश्चल काफ्ले, बिजय ढुंगेल, बिक्रम साह, दिलिप दिवाकर, रवि शंकर यादव, रुपेश के. यादव, कृष्ण खड्का, इमरान खान, सुशिल देवकोटा, बिनोद खरेल, सोम रेग्मी, प्रबिन भट्टराई रहनु भएको थियो ।

टोलीले भिडियो एक्सरे, ईसिजी, युरिनरी आर÷ई, पिएफटी लगायत परीक्षण समेत गरेको देवकोटाले जानकारी दिनुभयो । देवकोटाले भन्नुभयो “सात दिनको अवधिमा टोलीले ६७५ जनालाई सेवा दिएको छ, त्यसमध्ये भिडियो एक्सरे गर्नेको संख्या १३० छ ।” आवश्यकता अनुसार सामान्य सर्जरी (माईनर ओटी) हरु समेत गरिएको उहाँको भनाई छ ।

टोलीले जनस्वास्थ्य कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्लाका विभिन्न ठाउँमा पुगेर सेवा दिएको छ । नुवाकोटको बट्टार कभर्डहल, आयुर्वेदिक अस्पताल तल्लो पिपरटार, र विभिन्न होल्डिङ सेन्टर (अस्थायी शिविर) हरुमा पुगेर बिरामीको उपचार गरेको उहाँले जानकारी दिनुभयो ।

जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डा. अञ्जु कार्की सहित नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गर्दै विभिन्न ठाउँमा सेवा दिईएको उहाँको भनाई छ । सशस्त्र प्रहरीका चिकित्सक स्वास्थ्यकर्मीसँग समेत सहकार्य गर्दै सेवा दिईएको थियो ।

उपचारमा आएका बिरामीलाई आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराईएको थियो । आर्या फर्मासिटीकल्सले औषधि सहयोग गरेको हो । देवकोटाले बाढी प्रभावित क्षेत्रमा थप सेवा आवश्यक परेमा पुनः अर्काे टोली पठाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “विपत्को अवस्थामा मानवीय सेवामा हामी जस्तोसुकै कठिन परिस्थितिमा पनि पुगेर सेवा दिन तयार छौं ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij