काठमाडौँ: रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।
हालसम्म ९८ वटा शव सनाखत भई परिवारले बुझेकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । सनाखत हुन बाँकी रहेका शवका लागि डिएनए परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणितसहित नमूना दिन सकिने उनले बताइन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।
प्राधिकरणका प्रवक्ता महतका अनुसार चार हजार ९९४ जना अझै सम्पर्कविहीन रहेका छन् । तीमध्ये सबैभन्दा बढी नुवाकोटबाट दुई हजार ३४० र रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार एक हजार ९६७ जना रहेका छन्।
सम्पर्कविहीन हुनेको सङ्ख्या ठुलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ६ हजार ६७६ जनाले उपचार सेवा लिएका छन्।
विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका प्राधिकरणले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij