काठमाडौँ : त्रिशुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सडक सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सडकको मर्मत सम्भार गरी यातायात सुचारु गरेका हुन्।
मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेदेखि फेदी बेसी चोक, हिरामुनिटार, चोगते, बोरे भञ्ज्याङ, सानो खोला (रसुवा), धनस्वारा र पाटिखर्क खण्डमा व्यापक मर्मत कार्य गरिएको छ।
एक्साभेटर, ब्याकहोल लोडर र टिपर जस्ता हेभी मेसिनरी उपकरणहरूको प्रयोग गरी पहिरो पन्छाउने, सडकको सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने तथा साँघुरो स्थानमा सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ।
साथै, आवश्यक स्थानमा ग्राभेल राख्ने र कल्भर्ट निर्माण गरिएसँगै अब उक्त खण्डमा ठूला सवारी साधनहरू समेत दुईतर्फी रूपमा सञ्चालन हुनसक्ने भएका छन्।
यसअघि रसुवा आवतजावतका लागि काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली हुँदै पाटिखर्क–बोगटीटार–कालिकास्थान–धुन्चे मार्ग प्रयोग हुने गरेको थियो। उक्त मार्गमा मुख्यतः साना चार पाङ्ग्रे सवारी साधन मात्र सञ्चालनमा थिए।
अब दुईवटा वैकल्पिक मार्ग सञ्चालनमा आएकाले सवारी चाप व्यवस्थापन गर्न ‘एकतर्फी’ प्रणालीको खाका तयार पारिएको छ।
जसअनुसार भारवाहक सवारी साधनहरू ढिकुरे–बोरे भञ्ज्याङ–पाटिखर्क खण्डबाट रसुवातर्फ जाने र फर्कंदा पाटिखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा खण्ड प्रयोग गर्न सक्नेछन्।
यो व्यवस्थाले सडकमा हुनसक्ने सवारी जामलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। सडक भर्खरै मर्मत गरी सञ्चालनमा ल्याइएकाले वर्षाका कारण कतिपय स्थानमा बाटो हिलो र चिप्लो हुन सक्ने भन्दै चालकहरूलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।
सवारी साधन र यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न प्राविधिक टोलीले सडकको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij