Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो :प्राधिकरण प्रमुख

बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो :प्राधिकरण प्रमुख

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन्।प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको दाबी गरेका हुन्। हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकोले हेलिकप्टरमार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकेको उनले बताए। त्यस्ता क्षेत्रमा त्रिशूली वा रसुवालगायत हेलिकोप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले बताए। उनले स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडि बढाएको पनि जानकारी दिए।

‘धेरै ठाउँमा राहत सामग्री पुगिसकेको छ । केही ठाउँमा हेलिकप्टर अपरेसन एकदमै अप्ठ्यारो भएको छ। त्यस्ता ठाउँमा अहिले खोज तथा उद्धारका लागि मात्रै महत्वपूर्ण सामग्री पठाउनुपर्ने भएकाले राहत सामग्री पठाउन गाह्रो भइरहेको छ। त्यसलाई पनि कसरी सम्बोधन गर्ने भनेर हामी काम गरिरहेका छौँ ’, उनले भने,‘जब हाम्रो अपरेसनको हेलिकप्टर त्यहाँ गएको हुँदैन, त्यतिबेला हामी काठमाडौँबाट मात्रै होइन, चाहे त्रिशूलीबाट होस् वा रसुवाबाटै जहाँसम्म हेलिकप्टर जान सक्छ, त्यहाँबाट खाद्य सामग्री पठाउने कोसिस गरिरहेका छौँ।’

उनले छिमेकी मुलुकसँग समन्वय गर्दै उद्धार तथा राहतमा आवश्यक सहयोग लिइरहेको पनि बताए। उनले राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरेको बताए। बेपत्ता व्यक्तिका नाम प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको उनको भनाइ छ।

‘उद्धार र राहतमा कुनै पनि कसर बाँकी नरहोस् भनेर राज्यको तर्फबाट गर्नुपर्ने कुरामा हामी एकदमै संवेदनशील छौँ । हामीले ‘डे वान’को बिहान, साँझ र रात कुनै समय पनि नभनी निरन्तर काम गरिरहेका छौँ । केही गुनासाहरू छन्, ती गुनासाहरूलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका व्यक्तिहरूका नामहरू आइरहेका छन्, त्यसलाई पनि हामी हेरिरहेका छौँ’, उनले भने,‘ सूचना आउनेबित्तिकै हामीले तीनटै सुरक्षा निकायलाई पठाएर चेक गर्ने र आवश्यक परे फिल्डमा खटिएको हाम्रो टिमलाई पठाउने काम गरिरहेका छौँ । त्यसकारण प्रयास जारी छ र यो प्रयास हाम्रो खोज तथा उद्धारको अवस्था टुङ्गिएसम्म जारी रहन्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij