Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कृष्णभीरको नयाँ ट्र्याकमै चिरा, सडक विभागलाई प्राविधिक चुनौती

कृष्णभीरको नयाँ ट्र्याकमै चिरा, सडक विभागलाई प्राविधिक चुनौती

काठमाडौं : बाढी र पहिरोले क्षतविक्षत बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा यातायात सञ्चालनका लागि निर्माण भइरहेको वैकल्पिक ट्र्याकमै सोचेभन्दा बढी चिरा (क्र्याक) देखिएपछि प्राविधिक चुनौती थपिएको छ।

भदौ १० गतेको विपद्पछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन सडक विभागले वैकल्पिक ट्र्याक निर्माणलाई तीव्रता दिएको थियो। तर, जमिनको अस्थिरताका कारण नयाँ ट्र्याकमा देखिएका चिराले सडकको दीर्घकालीन स्थायित्व र सुरक्षामाथि प्रश्न उठाएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा नयाँ ट्र्याकमा अपेक्षाभन्दा बढी चिरा देखिएको बताए। उनका अनुसार पानी पसेर चिरा थप फैलिन नदिन तत्काल सिल गर्ने काम सुरु गरिएको छ।

‘हामीले सोचेभन्दा बढी चिराहरू देखिएका छन्, जुन चिन्ताको विषय हो,’ जैसीले भने, ‘यसको गम्भीरतालाई ध्यानमा राख्दै विज्ञहरूको परामर्शमा थप प्राविधिक विश्लेषण र माटोको परीक्षण भइरहेको छ।’

प्राविधिक टोलीले देखिएका चिरा सतहमै सीमित छन् वा जमिनको गहिराइसम्म पुगेका छन् भन्ने अध्ययन गरिरहेको छ। चिराको प्रकृति र जमिनको अवस्थाका आधारमा ट्र्याकको दीर्घकालीन भारवहन क्षमता तथा यातायात सञ्चालनको सुरक्षा सुनिश्चित गरिने विभागले जनाएको छ।

रातभर फ्लड लाइटमा काम
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा खाद्यान्न, इन्धन तथा ग्यासको आपूर्तिमा समेत असर परेकाले विभागले वैकल्पिक ट्र्याक निर्माणको कामलाई तीव्रता दिएको छ।

महानिर्देशक जैसीका अनुसार सडक छिटो सञ्चालनमा ल्याउन रातिको समयमा समेत फ्लड लाइट प्रयोग गरेर काम भइरहेको छ। ‘हामी २४सै घण्टा काममा खटिएका छौँ। प्रतिकूल भौगोलिक अवस्था र प्राविधिक अवरोधका बाबजुद पनि यातायात सुचारु गराउनु हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने।

ठूला सवारी सञ्चालनका लागि अझै प्रतीक्षा
कृष्णभीर खण्ड अवरुद्ध हुँदा सयौँ मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्। सरकारले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरे पनि ती मार्ग ठूला मालवाहक सवारीका लागि पर्याप्त नहुँदा पृथ्वी राजमार्ग नै सञ्चालनमा ल्याउनुपर्ने दबाब छ।

सडक विभागले भने प्राविधिक विश्लेषण र नयाँ ट्र्याकमा देखिएका चिराको व्यवस्थापनपछि मात्रै ठूला सवारीसाधन सञ्चालनको अनुमति दिने तयारी गरेको छ।

मौसममा सुधार आएर थप पहिरो नखसेको अवस्थामा तत्काल एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने विभागको लक्ष्य छ। तर, नयाँ ट्र्याकको स्थायित्व परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्रै यातायात खुलाउने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij