काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्कीमा कार्यरत दुई कर्मचारीविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
जग्गा हालसाविक गर्ने प्रक्रियामा सेवाग्राहीसँग घुस मागेको पुष्टि भएको भन्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाएको हो। आयोगका अनुसार भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा नापी कार्यालय कलङ्कीका तत्कालीन सर्भेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पाँडेल रहेका छन्। उनीहरूले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. ९ (साविक मच्छेगाउँ) मा रहेको जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने सहजताका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेका थिए।
अनुसन्धानका क्रममा कर्मचारीद्वयले नियमानुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई विभिन्न बहानामा दुःख र हैरानी दिँदै घुसका लागि बार्गेनिङ गरेको भेटिएको आयोगको भनाइ छ। कानुनी कारबाहीबाट जोगिन उनीहरूले घुसको रकम आफैँ नबुझी कार्यालयका सहयोगीमार्फत लिन मञ्जुर गरेको समेत पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। सोही ऐनको व्यवस्था अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गर्दै आज आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij