Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हर्क साम्पाङले भने - खोजी तथा उद्धार कार्य प्रभावकारी छैन, अझै १५ हजार सुरक्षाकर्मी परिचालन गर्नुपर्छ

हर्क साम्पाङले भने - खोजी तथा उद्धार कार्य प्रभावकारी छैन, अझै १५ हजार सुरक्षाकर्मी परिचालन गर्नुपर्छ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बाढीग्रस्त क्षेत्रमा तत्काल ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न तथा आवश्यक औजार र उपकरणसहित उद्धार टोली खटाउन सरकारसँग आग्रह गरेका हुन्।

साम्पाङले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक उपकरणसहित बाढी प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने बताएका छन्। प्रभावित क्षेत्रमा सामान्य बेल्चासमेत पर्याप्त रूपमा उपलब्ध नभएको दाबी गर्दै उनले उद्धार कार्यमा आवश्यक साधनस्रोतको अभाव देखिएको बताए।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘खोजी र उद्धार कार्य खास प्रभावकारी भएको छैन। अझै सुधार गर्नुपर्छ। थोरैमा १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरियोस्। औजार र उपकरणसहित बाढीग्रस्त क्षेत्रमा पठाइयोस्। बेल्चा समेत नभएको अवस्था छ।’

साम्पाङले आफूहरू सहभागी भएको अघिल्लो दिनको खोजी कार्यमा आफूसँगै बोकेको बेल्चाले समेत महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। उनका अनुसार उद्धार तथा खोजीका लागि आवश्यक उपकरण प्रभावकारी रूपमा प्रयोग गर्न सकिएको भए प्रभावित क्षेत्रमा सम्भावित जीवित व्यक्तिको खोजी अझ छिटो गर्न सकिन्थ्यो।

उनले उद्धारका क्रममा आवश्यक उपकरण प्रयोग गर्नसमेत सहज वातावरण नबनाइएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। जनशक्ति, उपकरण र समन्वयको अभावका कारण खोज तथा उद्धार कार्यमा ढिलाइ भइरहेको उनको भनाइ छ। साम्पाङले सरकारले प्रभावकारी रूपमा काम गर्न आफूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सुझाव तथा जानकारीलाई समेत गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘सरकार पक्षले मेरो फेसबुकको वाल पढ्नै पर्छ, यदि सबल र सहज तरिकाले काम गर्ने हो भने। अन्यथा भद्रगोल छ स्थिति।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij