नवलपुर : नेपालले पाटेबाघ संरक्षणमा सफलता हासिल गर्दै बाघको संख्या बढाए पनि मानव बस्तीमा पस्ने, मानिस तथा चौपायामाथि आक्रमण गर्ने र जंगलमा फर्काएर छाड्न नमिल्ने बाघको व्यवस्थापन भने चुनौती बन्दै गएको छ।मानिसलाई आक्रमण गर्ने, बस्तीमा पस्ने, चौपायामाथि आक्रमण गर्ने तथा घाइते वा अशक्त भएर जंगलमा फर्काउन नमिल्ने बाघलाई ‘समस्याग्रस्त बाघ’ का रुपमा नियन्त्रणमा लिएर होल्डिङ सेन्टर वा उद्धार केन्द्रमा राख्ने गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार अहिले देशभर १६ वटा समस्याग्रस्त बाघ होल्डिङ सेन्टर तथा उद्धार केन्द्रमा छन्। चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, जावलाखेलस्थित सदर चिडियाखानामा तीन र बाँके राष्ट्रिय निकुञ्जमा एउटा बाघ राखिएको छ।
विभागका वरिष्ठ अनुसन्धान अधिकृत डा. गणेश पन्तले तीमध्ये आठ वटा भाले र सात वटा पोथी बाघ रहेको जानकारी दिए। एउटा बाघको लिंग भने खुल्न सकेको छैन। उनीहरूलाई होल्डिङ सेन्टर तथा उपचार केन्द्रमा राखेर पालनपोषण र उपचार गरिँदै आएको पन्तले बताए।
समस्याग्रस्त बाघको संख्या बढ्दै गए पनि उनीहरूलाई राख्ने पूर्वाधार र त्यसका लागि आवश्यक बजेट भने पर्याप्त छैन। बाघलाई खाना खुवाउनेदेखि उपचार र रेखदेखसम्ममा ठूलो रकम खर्च हुने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार एउटा बाघलाई दिनमा करिब ६ किलो मासु चाहिन्छ। चितवनमा रहेका बाघलाई मासु खुवाउन मात्रै महिनामा एक लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको उनले बताए।
‘बाघलाई खाना खुवाउने मात्रै होइन, रेखदेख गर्ने कर्मचारी, प्राविधिक र उपचारमा पनि खर्च हुन्छ,’ थापाले भने, ‘तर सरकारले वर्षमा ४ देखि ५ लाख रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको छ।’ बजेट अभाव भएपछि समस्याग्रस्त बाघको व्यवस्थापनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्रिय निकुञ्जको आन्तरिक कोषबाट समेत खर्च जुटाउने गरिएको थापाले जानकारी दिए।
समस्याग्रस्त बाघ राख्ने होल्डिङ सेन्टरको समेत अभाव छ। विभागका अनुसार देशभर बाघ राख्न १७ वटा होल्डिङ सेन्टर छन्। चितवनमा सात, बर्दियामा पाँच, बाँकेमा एक, शुक्लाफाँटामा दुई र पर्सामा दुई वटा होल्डिङ सेन्टर छन्।चितवनका सातमध्ये एउटा होल्डिङ सेन्टर बिग्रिएर प्रयोग गर्न नमिल्ने अवस्थामा छ। समस्याग्रस्त बाघको संख्या बढ्दै गएमा आगामी दिनमा होल्डिङ सेन्टरकै अभाव हुने अवस्था आउन सक्ने थापाले बताए। गत पाँच वर्षमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले २५ वटा बाघको उद्धार गरेका छन्। चितवन र पर्सा राष्ट्रिय निकुञ्जले पछिल्लो छ वर्षमा ३१ वटा समस्याग्रस्त बाघको उद्धार गरेको अभिलेख छ।
बाघ विज्ञ बाबुराम लामिछानेका अनुसार बस्तीमा भेटिए पनि मानिस वा चौपायालाई क्षति नगरेका बाघलाई रेडियो कलर लगाएर निगरानी गरिन्छ। त्यसपछि निकुञ्जको मुख्य क्षेत्रमा लगेर छाड्ने गरिएको उनले बताए। तर, उमेर ढल्किएका, अशक्त तथा सिकार गर्न नसक्ने बाघलाई भने होल्डिङ सेन्टरमा राख्ने गरिएको छ।
बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वको जोखिम पनि बढेको छ। सन् २०१० देखि २०२४ सम्म गरिएको एक अध्ययनअनुसार नेपालमा बाघले २४५ जनामाथि आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो। हालै गरिएको बाघ गणना तथा अनुगमनअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ। बाघको संख्या बढ्नु संरक्षणका हिसाबले उपलब्धि भए पनि त्यससँगै मानव–बाघ द्वन्द्व व्यवस्थापनको चुनौती थपिएको छ।
समस्याग्रस्त बाघको व्यवस्थापनका लागि सरकारले चितवनमा ‘टाइगर स्याङ्क्चुअरी’ बनाउने तयारी गरेको छ। यसका लागि सरकारले ५ करोड रुपैयाँ बजेट छुट्याएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अधिकारीहरूले जानकारी दिएका छन्। विभागका इकोलजिस्ट हरिभद्र आचार्यका अनुसार चितवनको देवनगर वन क्षेत्रमा ५० देखि ५२ हेक्टर क्षेत्रमा टाइगर स्याङ्क्चुअरी बनाउने योजना छ। त्यहाँ बाघलाई खुला रुपमा हिँडडुल गर्न मिल्ने गरी इन्क्लोजर बनाइनेछ।स्याङ्क्चुअरीमा समस्याग्रस्त बाघ राखिनेछ। घाइते तथा अशक्त बाघका लागि उपचार केन्द्रसमेत बनाउने योजना रहेको आचार्यले बताए। बाघ संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिसँगै अब समस्याग्रस्त बाघको व्यवस्थापन, मानव–बाघ द्वन्द्व न्यूनीकरण र आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने अवस्था आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij