Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर-लिगलिगकोट- बारपाक- लाप्राक यात्रा स्मरण : पूर्व कर्मचारी समाज, कृषि विकास बैंकका साथीहरूको अविस्मरणीय यात्रा

भरतपुर-लिगलिगकोट- बारपाक- लाप्राक यात्रा स्मरण : पूर्व कर्मचारी समाज, कृषि विकास बैंकका साथीहरूको अविस्मरणीय यात्रा

पूर्व कर्मचारी समाज, कृषि विकास बैंकका साथीहरूको एउटा रमाइलो र आत्मीय समूह भरतपुरबाट गोर्खा भ्रमणको शृङ्खलामा निस्कियौं। लामो समय सँगै काम गरेका सहकर्मी साथीहरूबीचको आत्मीयता, पुराना सम्झना र नयाँ ठाउँको अवलोकन गर्ने उत्साहले हाम्रो यात्रा सुरुदेखि नै रमाइलो बनिरहेको थियो।

हाम्रो पहिलो गन्तव्य थियो—गोर्खाको लिलिकोट। लिलिकोटतर्फ जाने क्रममा त्यहाँको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिने अवसर पनि मिल्यो। स्थानीय कथनअनुसार, विगतमा लमजुङ र गोर्खाको सीमाक्षेत्रमा पर्ने चेपे नदी किनारबाट दौडिएर लिगलिगकोट पुग्नेमध्ये जो पहिले पुग्थ्यो, उसलाई राजा बनाउने परम्परा अनुसार द्रब्य शाह गोरखाका पहिलो राजा बनेको जानकारी हामिले पायौं । त्यसरी राजा बनेका व्यक्तिहरूको इतिहास र त्यससँग जोडिएका कथाहरूले हामीलाई निकै आकर्षित गर्‍यो।

No description available.

अझ रोचक कुरा, त्यस ऐतिहासिक परम्पराको सम्झना स्वरूप घले समुदायमा दौडको परम्परा अहिले पनि कायम रहेको र दौडमा उत्कृष्ट हुनेहरूलाई पुरस्कार दिने व्यवस्था अहिलेपनि रहेको जानकारी पायौँ। इतिहास, संस्कृति र परम्परा कसरी पुस्तौँसम्म जीवित रहन्छ भन्ने कुराको एउटा सुन्दर उदाहरणका रूपमा हामीले यसलाई अनुभव गर्‍यौँ।

No description available.

त्यसपछि हाम्रो यात्रा बारपाकतर्फ अघि बढ्यो। वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको ऐतिहासिक बारपाक पुग्दा विगतको त्यो भयावह घटनाको सम्झना आयो। तर अहिले बारपाकमा भएको पुनर्निर्माण देख्दा भने मनमा खुसी र सन्तोष पैदा भयो। नयाँ तथा आकर्षक घरहरू, व्यवस्थित बस्ती र प्राकृतिक सौन्दर्यले बारपाकलाई अझ सुन्दर बनाएको रहेछ।

हामी बारपाकको होमस्टेमा बस्यौँ। त्यहाँका दाइ–भाउजू तथा सम्पूर्ण होमस्टे परिवारले हामी ३२ जना पाहुनालाई जुन आत्मीयता र आतिथ्यता दिनुभयो, त्यो हाम्रो यात्राको अविस्मरणीय पक्ष बन्यो। स्वादिष्ट स्थानीय परिकारदेखि बस्ने र खाने व्यवस्थासम्म अत्यन्त राम्रो मिलाइएको थियो। प्रत्येकका लागि घर–घरमा बस्ने व्यवस्था र सम्भव भएसम्म एट्याच बाथरुमसहितको सुविधा मिलाइएको थियो। यति ठूलो समूहलाई पनि कुनै असहजता महसुस नहुने गरी गरिएको व्यवस्थापन साँच्चिकै प्रशंसनीय थियो।

No description available.

हाम्रो कार्यक्रमअनुसार बिहानै निस्कने योजना थियो। तर गाडीको टायरको समस्याका कारण यात्रा केही ढिला भयो। त्यसबीच होमस्टेका दाइले हाम्रो लागि एउटा बोका समेत किनिदिनुभएको थियो। साथीहरूले बिहानै बोका काटेर आफैँ पकाउने तयारी गर्नुभयो। सबै मिलेर पकायौँ, खायौँ र रमाइलो गर्‍यौँ। खानपिनसँगै गीत, नाच, हाँसो र पुराना सम्झनाहरूले वातावरण झनै रमाइलो बन्यो। गाडीको समस्या समाधान भएर गोर्खा सदरमुकामबाट टायर आएपछि बल्ल दिउँसो करिब दुई बजेतिर हामी लाप्राकतर्फ लाग्यौँ।

लाप्राक पुग्दा त्यहाँको दृश्यले हामीलाई अझ प्रभावित बनायो। भूकम्पका कारण घरबार गुमाएका तथा प्रभावित परिवारका लागि निर्माण गरिएको व्यवस्थित बस्ती हेर्ने अवसर मिल्यो। स्थानीय बस्तीको पुनर्निर्माणमा गैरआवासीय नेपाली समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको योगदान उल्लेखनीय रहेछ। विशेषगरी एनआरएनको नेतृत्वमा ठूलो लगानीमा निर्माण गरिएको एकीकृत बस्ती हेर्दा विपद्पछिको पुनर्निर्माण कसरी अवसरमा परिणत गर्न सकिन्छ भन्ने प्रेरणा मिल्यो। भूकम्पले तहसनहस पारेको ठाउँमा आज सुन्दर, व्यवस्थित र सुरक्षित बस्ती निर्माण भएको देख्दा विकासप्रतिको आशा अझ बलियो बन्यो। स्थानीय मानिसहरूको जीवनमा पुनः खुसी फर्काउने यस्ता प्रयास वास्तवमै प्रशंसनीय छन्।

यसरी लिगलिगकोटको इतिहास र संस्कृति, बारपाकको पुनर्निर्माण र आत्मीयता र आतिथ्यता तथा लाप्राकको व्यवस्थित पुनर्निर्माण अवलोकन गर्दै हाम्रो यात्रा अगाडि बढ्यो। बाटोभरि देखिएका हिमाल, पहाड, हरियाली, खोँच र मनोरम प्राकृतिक दृश्यले यात्रालाई थप आकर्षक बनाइरह्यो ।

No description available.

अन्ततः हामी रमणीय गोर्खाका सम्झनाहरू मनभरि बोकेर चितवनतर्फ फर्कियौँ। यो यात्रा केवल घुमफिर मात्र थिएन। यो हाम्रा पुराना सहकर्मी साथीहरूसँगको पुनर्मिलन, आत्मीयता, इतिहासको अनुभूति, स्थानीय संस्कृति र परम्पराको अवलोकन तथा विपद्पछिको पुनर्निर्माणबाट प्रेरणा लिने अवसर पनि थियो। कृषि विकास बैंकमा सँगै काम गरेका पूर्व सहकर्मी साथीहरूबीचको मित्रता र आत्मीयता समयसँगै अझ गहिरो हुँदै जाओस् र यस्ता यात्रा तथा भेटघाटका श्रृङ्खला निरन्तर चलिरहून्—यही यात्राको सबैभन्दा सुन्दर उपलब्धि हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट