काठमाडौँ : अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब न त ढाकछोप गर्न पाइनेछ, न त अस्पष्ट विवरणमै सीमित रहनेछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै देशैभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य सङ्गठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम (निश्चयकारी) कारण खुलाउनुपर्ने अनिवार्य नियम बनाएको छ । अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।
यस प्रणालीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको प्रत्येक मृतकलाई प्राप्त हुने ‘युनिक आइडेन्टिफिकेसन नम्बर’ हो । अस्पतालले मृत्युको कारणसहितको चिकित्सकले जारी गरेको प्रमाणपत्र र यूआइएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ । सोही यूआइएनका आधारमा स्थानीय पञ्जिकाधिकारीको कार्यालय (वडा कार्यालय) मा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ताअन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन् ।
अस्पतालमा हुने मृत्युको तथ्याङ्कलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग अन्तर–आबद्ध गरिनेछ । यसले एकातिर कानुनी प्रक्रिया र पञ्जीकरणलाई पारदर्शी बनाउनेछ भने अर्कोतिर फर्जी मृत्यु दर्ता वा अभिलेखमा हुने गडबडीलाई पूर्ण रूपमा रोक्ने मन्त्रालयको विश्वास छ ।
कार्यविधिले अस्पतालहरूलाई केवल अभिलेख राख्न मात्र नभई ‘रोक्न सकिने मृत्यु’ घटाउन कार्ययोजना बनाउन पनि बाध्य पारेको छ । अस्पतालहरूले आफ्नो संस्थामा भएका मृत्युको कारण र तथ्याङ्कको नियमित विश्लेषण गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार्न, व्यवस्थापन सुदृढ गर्न र रोकथामका उपाय अपनाउन अनिवार्य रूपमा योजना लागू गर्नुपर्नेछ ।
नयाँ प्रणाली सहज बनाउन मोबाइल एप्लिकेसनसमेत प्रयोगमा ल्याइनेछ भने सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा यसको कार्यान्वयन र अनुगमनका लागि सहजीकरण समितिहरू गठन गरिएका छन् ।




© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij