तनहुँ : तीन दशकअघि तनहुँको बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठका लागि काठ नै जीविकोपार्जनको मुख्य आधार थियो। काठको व्यापार र उद्योगबाट परिवारको गुजारा चलिरहेको थियो। सुरुसुरुमा उद्योगका लागि चाहिने कच्चा पदार्थ अर्थात् काठ सहजै पाइन्थ्यो। त्यसैले एकदिन काठकै अभावमा आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था आउला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। तर समय सधैँ एउटै रहेन। काठ पाउन जङ्गल चहार्नुपर्ने अवस्था आयो र बजारमा पनि आवश्यक परिमाणमा काठ पाउन कठिन हुन थाल्यो।
अन्ततः कच्चा पदार्थको अभावमा उनको काष्ठ उद्योग बन्द हुने अवस्थामा पुग्यो। उद्योग बन्द हुने पीडाले उनलाई निराश मात्र बनाएन, आफ्नै तरिकाले समस्या समाधान गर्ने अठोट पनि जन्मायो। श्रेष्ठ भन्छन्, ‘काठ नै नपाएर उद्योग बन्द गर्नुपर्ने अवस्था अरूलाई नआओस् भन्ने लाग्यो। त्यसपछि आफैँ रुख रोप्छु, आफ्नै वन बनाउँछु भन्ने सोच आयो।’ त्यही सोचले उनलाई व्यवसायीबाट वन उद्यमीतर्फ डोहोर्यायो।
कृषि उत्पादनका लागि उर्वर मानिएको आफ्नो १२ रोपनी जग्गामा मानकाजीले सालका बिरुवा रोप्न थाले। खेतीयोग्य जमिनमा रुख रोप्न थालेपछि कतिपयले उनको निर्णयको आलोचनासमेत गरे। कृषि उब्जनी हुने जग्गा किन वन बनाउन लागेको भन्दै प्रश्न उठे पनि मानकाजी आफ्नो निर्णयबाट पछि हटेनन्। बुबाको साथ र आफ्नै इच्छाशक्तिले उनलाई अघि बढायो। वर्षौंअघि रोपिएका ती साना बिरुवा अहिले ठूला रुख बनिसकेका छन्।
बिहानको समय आफ्नै हातले हुर्काएको वनमा बिताउँदा मानकाजीलाई आज पनि उत्तिकै आनन्द लाग्छ। श्रेष्ठ भन्छन्, ‘बिरुवा रोप्ने पहिल्यैदेखिको मेरो रुचि र काठ उद्योगमा कच्चा पदार्थ नपाउँदाको पीडाले मलाई वन आफैँ बनाउनुपर्छ भन्ने लाग्यो।’ उनले थपे, ‘त्यसपछि निजी वनमा सालका रुख लगाउन सुरु गरेको हुँ, अहिले त एभोकाडो र कागती पनि लगाएको छु।’ अहिले हरेक बिहान आफैँले बनाएका वनको हरियाली हेर्दै स्वच्छ हावाबाट श्वास फेर्दै चिरबिरचिरबिर चराचुरुङ्गीको आवाजमा हराउँदा उनलाई अझै बढी आनन्द आउने गरेको छ।
केही वर्षअघि लगाइएका बिरुवा अहिले रुख बनिसकेका छन्। त्यसपछि अहिले थप ३० रोपनी जग्गामा एभोकाडो र कागतीका बोट लगाइएको छ। मानकाजीका लागि हरित अर्थतन्त्र उत्पादनको स्रोत बनेको छ, उनको निजी वन। त्यसबेला उनलाई आजजस्तो वनबाट आम्दानी लिन सकिन्छ भन्ने लागेको थिएन तर सानैदेखि बिरुवा लगाउने, हरियालीमा गएर बस्न र खेल्न मन पराउने उनको स्वभाव थियो। त्यही प्रकृतिको मोहले उनलाई वन उद्यमी बनायो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij