Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रोल्पामा पहिरोमा पुरिएर मृत्यु भएकाको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

रोल्पामा पहिरोमा पुरिएर मृत्यु भएकाको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

रोल्पा : रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । अन्य ५ जना अझै बेपत्ता छन् । बुधबार राति अविरल वर्षासँगै खसेकाे पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित अरू आधा दर्जन घरगोठ बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ७१ वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ६ वर्षीय अशोक पुन मगर छन् ।

पहिरोमा परी मृत्यु भएकामध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकास्थित माडी खोला किनारामा फेला परेको हो । प्युठानमा बिहीबार ५ वटा बेवारिसे शव फेला परेका थिए । अन्य शव पनि पहिरोमा बेपत्ता भएकाहरूको हुनसक्ने अनुमान गरिएको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् । पहिरोमा १४ जना परेका थिए । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरीएको थियो । उनीहरू दुवै जनालाई थप उपचारका लागि बुटवल ल्याइएको छ ।

बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए । उनले लगातार पानी परेका कारण लेदोसहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाइ भएको बताए । ‘हामी अहिले घटनास्थलमै छौँ, लगातार पानी परेका कारण उद्धार कार्यमा कठिनाइ भएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट