काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले स्थापित पत्रिका र त्यसका सम्पादकलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास भएको बताएका छन्।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै पत्रकार श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्।
पत्रकार श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो।
‘नेपालको स्थापित पत्रिका र त्यसका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो। तत्काल रिहाइको माग गर्दछु,’उनले फेसबुकमा लेखेका छन्।
काठमाडौँ प्रहरी परिसरका अनुसार जनआस्थाका सम्पादक श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा थुनुवा पुर्जी जारी भएको हो।
दीपिका सिंहको जाहेरीका आधारमा नेपाल सरकार वादी रहने गरी श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूर मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij