Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ : नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध भएको जनाएको छ।

कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोक मार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

इलामको राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यहाँ पनि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

बागमती प्रदेशका मुख्य सडकहरूमा पनि बाढी र पहिरोको जोखिम उच्च रहेको छ। काभ्रेस्थित बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीका कारण साँझ छ बजेदेखि बिहान चार बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सो खण्डमा बिहान चार बजेदेखि साँझ छ बजेसम्म भने परिस्थितिको विचार गरेर मात्र सवारी चलाउन दिइने छ।

मकवानपुरको हेटौँडा-ठिङ्गन-बाग्मती-ललितपुर जोड्ने कान्ति लोकपथमा पनि साउन २९ गतेदेखि साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत चारकिलो, कोदारी र लिपिङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको खाल्टेमा आएको बाढीका कारण त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड पूर्ण रूपमा बन्द रहेको छ, जुन खुल्न लामो समय लाग्ने अनुमान छ।

गण्डकी प्रदेशका केही भागमा पहिरोका बाबजुद यात्रा एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। बाग्लुङको बेलबगरस्थित कालीगण्डकी करिडोर र लमजुङको बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोक मार्गमा पहिरो खसे पनि सडक एकतर्फी सुचारु गरिएको छ। बाग्लुङको सडक दुईतर्फी बनाउन भने अझै समय लाग्ने छ।

लुम्बिनी प्रदेशको रुकुम पूर्वस्थित काडाबगरमा पहिरो जाँदा मध्य पहाडी लोक मार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरको जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ। सडक अवरुद्ध भएका स्थानमा पहिरो पन्छाउने र सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट