Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति एमाले महासचिव पोखरेलको आपत्ति, अविलम्ब रिहाइको माग

पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति एमाले महासचिव पोखरेलको आपत्ति, अविलम्ब रिहाइको माग

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनआस्था साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै उनलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।

समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम भएको महासचिव पोखरेलको ठहर छ।

समाचारका स्रोत वा विषयवस्तुप्रति असहमति जनाउने, खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने ढोका खुला रहँदारहँदै प्रहरीले सिधै धरपकड गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको महासचिव पोखरेलले बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पत्रकार श्रेष्ठको निडर र साहसिक पत्रकारिताको प्रशंसा गरेका छन्।

अग्रज पत्रकारहरूको आवाज दबाउने प्रयास गरिएमा धेरै सत्य र रहस्यहरू सधैँका लागि हराउने जोखिम रहनेतर्फ सचेत गराउँदै एमाले महासचिव पोखरेलले श्रेष्ठमाथिको यो गिरफ्तारी गैरन्यायिक र प्रतिशोधपूर्ण रहेको उल्लेख गरेका छन्।

उनले राज्यको यो कदमको भर्त्सना गर्दै पत्रकार श्रेष्ठको निसर्त र अविलम्ब रिहाइको जोडदार माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट