Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनका शिक्षक राजकुमार कँडेलले जिते ‘भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’

चितवनका शिक्षक राजकुमार कँडेलले जिते ‘भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’

चितवन : चितवनका शिक्षक राजकुमार कँडेलले ‘भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ जितेका छन्। भरतपुर–१, रामनगर निवासी कँडेल नारायणी नमुना माध्यमिक विद्यालयका गणित शिक्षक हुन्।

भिपी अग्रवाल साइन्स फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा कँडेललाई २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो। राजधानीबाहिरबाट यो पुरस्कार प्राप्त गर्ने कँडेल पहिलो शिक्षक बनेका छन्। देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये पाँच जनालाई प्रदान गरिएको यस वर्षको अवार्डमा कँडेल पनि छनोट भएका हुन्। दुई सयभन्दा बढी शिक्षकबाट विभिन्न चरणको मूल्याङ्कनपछि उनलाई उत्कृष्ट घोषणा गरिएको हो।

२०७५ सालदेखि नारायणी नमुना माविमा अध्यापन गर्दै आएका कँडेल हाल विद्यालयको तहगत प्रमुख (लेबल हेड) समेत हुन्। २०७१ सालमा स्थायी भएका उनले इच्छाकामना गाउँपालिकाको काउलेस्थित आधारभूत विद्यालयबाट शिक्षण यात्रा सुरु गरेका थिए। पाठ्यक्रम मूल्याङ्कन र गणित विषयमा स्नातकोत्तर गरेका कँडेलले पुरस्कार प्राप्त गरेपछि विद्यालय, विद्यार्थी र अभिभावकप्रति आभार व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको बताए।

नारायणी नमुना माविका शिक्षक दीपक तिवारीका अनुसार कँडेलको संयोजकत्वमा सञ्चालन गरिएको ‘चार जिपिए क्लब’ले विद्यार्थीको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ। सोही अभियानपछि यसपटक विद्यालयबाट ३७ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको उनले बताए।अवार्ड छनोटका क्रममा शिक्षकको विषयगत ज्ञान, शिक्षणमा सिर्जनशीलता, विद्यार्थीको सिकाइ सुधार, नवीन प्रयोग र प्रस्तुतीकरण क्षमताजस्ता आधारलाई मूल्याङ्कन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij