काठमाडौँ : नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले मुलुकको वर्तमान परिस्थितिमा पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र वास्तविक मेलमिलाप र एकताको आवश्यकता औँल्याए ।
नेता भट्टराईले कांग्रेस कमजोर भए देशको समग्र प्रणाली नै संकटमा पर्ने चेतावनी दिए । ‘कांग्रेस एकताबद्ध भएन भने लोकतन्त्र र संविधान जोगिने छैन,’ उनले भने ।
विगतका राजनीतिक सङ्कटहरूमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनले संविधान निर्माणको अन्योल, मुलुकको अशान्ति, माओवादी द्वन्द्व र मधेस आन्दोलनका समयमा राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएर निकास दिने काम कांग्रेसले नै गरेको उल्लेख गरे । यिनै ऐतिहासिक जिम्मेवारीहरूका कारण पनि कांग्रेसमा एकता अपरिहार्य रहेको उनको भनाइ थियो ।
एकताका लागि हलमा बस्ने कार्यकर्ता वा शुभेच्छुकहरूको चाहना मात्र पर्याप्त नहुने भन्दै उनले नेतृत्व तहबाटै ठोस कदम चालिनुपर्नेमा जोड दिए । भट्टराईले पार्टीलाई थप सुदृढ बनाउनका लागि सभापति र गगन थापाले एकताको वातावरण सिर्जना गर्दै तत्काल वार्ता प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij