काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलहरूले नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण विषयमा पर्याप्त बहस गर्न नसकेको बताएका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले समावेशी लोकतन्त्रको अभ्यास भाषणमा मात्र नभई व्यवहारमै गरेर देखाएको उल्लेख गरे।
थापाले सामाजिक न्याय, मानव कल्याण, नैतिक मूल्य र नागरिक हितलाई बेवास्ता गरेर दिगो विकास सम्भव नहुने बीपीको स्पष्ट दृष्टिकोण रहेको बताए। उनले बीपीले आफ्नो राजनीतिक जीवनमार्फत विकाससँगै सामाजिक न्याय र नैतिक जिम्मेवारीलाई समान महत्त्व दिएको बताए।
उनका अनुसार दक्षिण एसियामै महिलाको राजनीतिक सहभागिता अत्यन्त सीमित रहेको समयमा बीपीले मन्त्रिपरिषद्मा महिलालाई स्थान दिएका थिए। त्यस्तै, दलित नेतालाई पार्टीको महामन्त्री बनाउनुका साथै विभिन्न जातजाति, भाषा र समुदायका व्यक्तिलाई संसद् तथा सरकारमा सहभागी गराएर समावेशी लोकतन्त्रको उदाहरण प्रस्तुत गरेका थिए।
थापाले समावेशी लोकतन्त्रबिना प्रजातन्त्र पूर्ण हुन नसक्ने सन्देश बीपीले व्यवहारमै स्थापित गरेको उल्लेख गर्दै आजका राजनीतिक दलहरूले पनि त्यही मार्गलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए। उनले जलवायु परिवर्तनको अवधारणा त्यसबेला प्रचलनमा नरहे पनि बीपीले विकास, मानव कल्याण, सामाजिक न्याय र नैतिक जिम्मेवारीलाई जोडेर दिगो विकासको आधार प्रस्तुत गरेको बताए।
थापाले बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, समावेशिता र सामाजिक न्यायका सिद्धान्तहरू आजको राजनीतिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै नागरिकका वास्तविक मुद्दालाई केन्द्रमा राखेर राजनीति अघि बढाउन सबै दललाई आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij