Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

वृक्षारोपण गर्दै राष्ट्रिय युवा संघ चितवनको पहिलो जिल्ला बैठक सम्पन्न

वृक्षारोपण गर्दै राष्ट्रिय युवा संघ चितवनको पहिलो जिल्ला बैठक सम्पन्न

चितवन : राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीले रत्ननगरस्थित इको पार्कमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै जिल्ला कमिटीको प्रथम बैठक सम्पन्न गरेको छ। गत असार ६ र ७ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो बैठकले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्नुका साथै संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णय गरेको जनाएको छ।

बैठकसँगै वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले इको पार्क परिसरमा वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। सहभागीहरूले वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। जिल्ला अध्यक्ष उत्तम सेढाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय आर्थिक विभागका उपप्रमुख शिव ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बागमती प्रदेश अध्यक्ष हरिशरण जमरकट्टेलले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।

कार्यक्रममा नेकपा (एमाले) चितवनका अध्यक्ष कमलराज पाठक, जिल्ला सचिव प्रकाश ढुंगाना, जिल्ला लेखा समिति अध्यक्ष शंकर अधिकारीसहित एमालेका जिल्ला तहका नेता तथा राष्ट्रिय युवा संघका पदाधिकारी, कार्यकर्ता र जनसंगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला सचिव सन्देश पन्तले गरेका थिए। कार्यक्रममा संगठनलाई अझ सुदृढ, सक्रिय र जनमुखी बनाउँदै युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणका अभियानलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij