Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साना नदीमा आकस्मिक बाढीको जोखिम, चितवनसहित ३७ जिल्लामा सतर्कता अपनाउन आग्रह

साना नदीमा आकस्मिक बाढीको जोखिम, चितवनसहित ३७ जिल्लामा सतर्कता अपनाउन आग्रह

चितवन : जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाबाट बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज चितवन, मकवानपुर, नवलपरासी (पूर्व र पश्चिम), धादिङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने सम्भावना रहेको छ।

विभागले नदी किनार, तटीय क्षेत्र तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी तर्न वा नदी किनारमा नजान तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

यद्यपि विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको जलस्तर हाल जोखिम रेखाभन्दा तल रहेको छ। तर निरन्तर वर्षा भइरहेकाले स्थानीय खोलानाला र साना नदीमा भने आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मौसम र नदीको अवस्थाबारे नियमित जानकारी लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न पनि सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij