चितवन : इन्जिनियरिङ क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग अब विकल्प नभई अनिवार्य आवश्यकता बन्दै गएको विज्ञहरुले बताएका छन् । प्रविधिको तीव्र विकाससँगै इन्जिनियरिङ पेशालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन एआईको प्रयोगलाई आत्मसात गर्नुपर्ने उनीहरुको भनाइ छ । नेपाल इन्जिनियर्स एशोसिएसन भरतपुर एकाइले ६४औँ इन्जिनियर्स दिवसको अवसरमा भरतपुर–२२ पटिहानीमा आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सूचना प्रविधि विभागका प्रमुख प्राडा. सुवर्ण शाक्यले इन्जिनियरिङ क्षेत्रमा एआईको महत्व र प्रयोगबारे कार्यपत्र प्रस्तुत गर्दै एआई स्वीकार गर्नुको विकल्प नरहेको बताएका हुन् ।
उनले इन्जिनियरिङसम्बन्धी पाठ्यक्रममै एआईका विषय समेटिनुपर्ने आवश्यकता औँल्याए । मानव दक्षता र कृत्रिम बुद्धिमत्ताको संयोजनबाट अझ प्रभावकारी र उत्कृष्ट परिणाम निकाल्न सकिने बताउँदै उनले इन्जिनियरहरुले प्रविधिसँगै आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे । “एआईले कामलाई सहज बनाउनुका साथै समयको बचत र गुणस्तरीय परिणाम प्राप्त गर्न सहयोग पुर्याउँछ,” प्राडा. शाक्यले भने, “प्रविधिको विकाससँगै अघि बढ्न सके मात्र इन्जिनियरहरु आगामी दिनमा प्रतिस्पर्धी बन्न सक्छन् ।” कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले समाज निर्माण र विकासमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण रहेको बताए । इन्जिनियरहरु बौद्धिक, सिर्जनशील र परिवर्तन चाहने जनशक्तिका रुपमा स्थापित भएको उल्लेख गर्दै उनले उनीहरुको समस्या र चुनौतीबारे महानगर जानकार रहेको बताए । उनले विकास निर्माणदेखि प्रविधिको प्रयोगसम्म इन्जिनियरहरुको योगदान महत्वपूर्ण रहेको भन्दै स्थानीय तह र प्राविधिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
नेपाल इन्जिनियर्स एशोसिएसनका संस्थापक अध्यक्ष बाबुराम उपाध्यायले बदलिँदो सूचना प्रविधिको स्वरुपअनुसार इन्जिनियरहरुले आफ्नो ज्ञान र सीपलाई समयअनुकूल विकास गर्नुपर्ने बताए । उनले पेशागत मर्यादा कायम गर्दै नयाँ प्रविधिको प्रयोगमा अघि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरे ।
एशोसिएसन भरतपुर च्याप्टरका अध्यक्ष दीपक खनालले इन्जिनियरहरुको पेशागत हकहित र अधिकारका लागि एशोसिएसन निरन्तर सक्रिय रहने बताए । समाज परिवर्तनमा इन्जिनियरहरुको योगदान महत्वपूर्ण भए पनि उनीहरुका समस्या र माग राज्यको प्राथमिकतामा पर्याप्त नपरेको उनको भनाइ थियो । “इन्जिनियरहरुको भूमिका विकास र समृद्धिको आधारसँग जोडिएको छ । त्यसैले राज्यले प्राविधिक जनशक्तिका समस्या र आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्छ,” अध्यक्ष खनालले भने । खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्जिनियर सन्तोष पाण्डेले संयोजन गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगर क्षेत्रका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुको सहभागिता रहेको एशोसिएसनका पूर्व अध्यक्ष इन्जिनियर कृष्ण रिजालले जानकारी दिए । उनले इन्जिनियर्स दिवसलाई केवल औपचारिक कार्यक्रमका रुपमा मात्र नभई संस्थाको अवस्था, पेशागत चुनौती, आगामी नीति तथा कार्यक्रम र इन्जिनियरिङ क्षेत्रको विकासका विषयमा छलफल गर्ने अवसरका रुपमा लिनुपर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij