Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बागमती सरकारबाट बाहिरिने तयारीमा एमाले, ६ मन्त्रीलाई राजीनामा दिन निर्देशन

बागमती सरकारबाट बाहिरिने तयारीमा एमाले, ६ मन्त्रीलाई राजीनामा दिन निर्देशन

काठमाडौं : बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीलाई राजीनामा दिन एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले निर्देशन दिएका छन्।

एमाले स्रोतका अनुसार दलका नेता थपलियाले सरकारमा रहेका मन्त्रीहरूलाई तत्काल राजीनामा बुझाउन निर्देशन दिएका हुन्। केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सरकारको सत्ता समीकरण परिवर्तन हुने सम्भावनाबीच एमालेले यस्तो निर्णय लिएको जनाइएको छ।

एमाले केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले वर्तमान सरकारमा निरन्तर रहन उपयुक्त नहुने निष्कर्ष निकालिएको नेता थपलियाले बताएका छन्।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। तर पार्टी केन्द्रबाट औपचारिक निर्देशन नआएपछि अन्तिम समयमा प्रक्रिया रोकिएको थियो। एमाले नेताहरूका अनुसार सरकारबाट बाहिरिएर नयाँ सत्ता समीकरण निर्माणका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले मन्त्रीहरूले पद त्याग गर्न लागेका हुन्।

हाल बागमती प्रदेश सरकारमा एमालेबाट स्वास्थ्य मन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ सहभागी छन्।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना छ। अब नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने वा सरकारको भविष्यबारे थप राजनीतिक छलफलबाट टुंगो लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij