Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

शिक्षामन्त्रीद्वारा पूर्वी चितवनको चेपाङ बस्तीस्थित विद्यालय अनुगमन

शिक्षामन्त्रीद्वारा पूर्वी चितवनको चेपाङ बस्तीस्थित विद्यालय अनुगमन

चितवन :  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित श्री गणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गर्नुभएको छ।

चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे मन्त्री पोखरेलले जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा उहाँले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गर्नुभयो। छलफलमा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे विस्तृत जानकारी लिइएको थियो।

त्यस अवसरमा शिक्षक, कर्मचारी तथा अभिभावकहरूले विद्यालयको पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन र स्थानीय तहमा देखिएका समस्याबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यस्ता विद्यालयले भोगिरहेका समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

अनुगमनमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य प्रभा ढकाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झा, मन्त्रीका सल्लाहकार सरोज गौतमलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij