चितवन : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कृषि तथा वन विश्वविद्यालय (एएफयू) को शैक्षिक तथा प्रशासनिक सुधारका लागि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मन्त्री पोखरेलले एएफयूको भ्रमण गर्दै विश्वविद्यालयका फार्म, प्रयोगशाला तथा विभिन्न संकायको अवस्थाबारे जानकारी लिनुभएको हो। भ्रमणका क्रममा उहाँले कृषि शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
मन्त्री पोखरेलसँगै संघीय सांसद हरि ढकालले पनि विश्वविद्यालयको स्थलगत अवलोकन गर्नुभएको थियो। सो अवसरमा विश्वविद्यालयको शैक्षिक विकास, प्रशासनिक सुधार तथा त्रिभुवन विश्वविद्यालय र एएफयूबीचको जग्गासम्बन्धी समस्याका विषयमा छलफल भएको जनाइएको छ।
एएफयूका उपकुलपतिले मन्त्री पोखरेल र सांसद ढकालको भ्रमणले विश्वविद्यालयको विकासका लागि सकारात्मक मार्गदर्शन प्राप्त भएको बताउनुभएको छ। उहाँले कृषि तथा वन विश्वविद्यालयलाई नेपालको कृषि शिक्षाको राष्ट्रिय उत्कृष्टता केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित संस्थागत सुधार, अनुसन्धान र नवप्रवर्तनमा जोड दिइरहेको जानकारी दिनुभयो।
मन्त्री पोखरेलको भ्रमणलाई कृषि शिक्षाको गुणस्तर सुधार र विश्वविद्यालयका दीर्घकालीन समस्याको समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij