चितवन : चितवनका आदिवासी बोटे समुदायले आफ्नो मुख्य चाड साउने संक्रान्ति ‘लेलाहर देलाहर’ कार्यक्रम आयोजना गरी मनाएका छन् । बोटे समुदायले साउने संक्रान्तिलाई नयाँ वर्षको सुरुवातका रूपमा समेत मनाउने गर्छन् । चितवन र तनहुँका बोटे समुदायका मानिसहरू भरतपुर महानगरपालिका–१३ स्थित छितामाईमा भेला भएर शुभकामना आदानप्रदानसँगै परम्परागत विधिअनुसार प्रकृतिको पूजा गरेका हुन् ।
कार्यक्रममा बोटे समुदायका गुरुवाले नदी, खोला र वनसँग जोडिएका सामग्री डुंगा, जाल, सुन चाल्ने डोर लगायतका परम्परागत साधन तथा विभिन्न वनस्पतिको पूजा गरेका थिए । बोटे समुदायको जीवन प्रकृति र जलस्रोतसँग जोडिएकाले प्रकृतिको संरक्षण र समृद्धिको कामना गर्दै पूजा गर्ने परम्परा रहेको बताइएको छ । साउने संक्रान्तिको अवसरमा महिला तथा पुरुषहरू आफ्नै मौलिक भेषभुषामा सहभागी भएका थिए । वर्षभरि जनधनको क्षति नहोस् भन्ने कामनासहित पूजा गर्ने गरिएको समुदायका अगुवाले बताएका छन् । यस्ता कार्यक्रमले लोप हुँदै गएको बोटे समुदायको कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
चितवनमा करिब तीन हजार बोटे समुदायको बसोबास रहेको जनाइएको छ ।