Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

श्रीलंकामा ‘हेण्ड्स अफ एशिया’ सम्मेलनलाई प्रचण्डको सम्बोधन, असंलग्नता र समाजवादी निर्माणमा जोड

श्रीलंकामा ‘हेण्ड्स अफ एशिया’ सम्मेलनलाई प्रचण्डको सम्बोधन, असंलग्नता र समाजवादी निर्माणमा जोड

काठमाडौं  : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रीलंकामा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलन लाई सम्बोधन गर्दै बदलिँदो विश्व राजनीतिक परिवेशमा असंलग्नताको नीति र समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ।

इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँले बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्न विदेश नीति र समाजवादी विकासको राजनीतिक रूपरेखा आवश्यक रहेको धारणा राख्नुभयो।

सम्मेलनमा श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पाताबेन्दी ले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का ऋण कार्यक्रमका कडा सर्तबीच जनपक्षीय विकासको वैकल्पिक मार्ग निर्माण गर्ने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो।

यस्तै, विश्वप्रसिद्ध मार्क्सवादी लेखक तथा ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च का संयोजक विजय प्रसाद ले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे विस्तृत धारणा राख्नुभयो।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक, आर्थिक तथा वैचारिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ। सम्मेलनका क्रममा श्रीलंकामा रहनुभएका प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ।

यसैबीच सम्मेलनको साइडलाइनमा उहाँले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेताहरूसँग भेटवार्ता गर्नुभएको छ। सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटा ले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गर्नुभएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij