Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

धान रोपाइँको सिजनमा चितवनमा मल वितरण तीव्र, १५ दिनमै ९६९ टन बिक्री

धान रोपाइँको सिजनमा चितवनमा मल वितरण तीव्र, १५ दिनमै ९६९ टन बिक्री

चितवन : धान रोप्ने मुख्य सिजन सुरु भएसँगै चितवनमा रासायनिक मल वितरणको काम तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत पछिल्लो १५ दिनमा ९६९ टन रासायनिक मल बिक्री गरेको जनाएको छ ।

उक्त मल जिल्लाका सूचीकृत सहकारी संस्थामार्फत किसानलाई वितरण गरिएको हो । शाखा प्रमुख राजन बगालेका अनुसार असारको अन्तिम १५ दिनमा मात्रै ६६८.२ टन युरिया, २०१.८ टन डीएपी र ९९.१७५ टन पोटास बिक्री भएको छ ।

चितवनका २७८ वटा सहकारी संस्थाले अनलाइन प्रणालीमार्फत मल वितरण गरिरहेका छन् । अनलाइन प्रणाली लागू भएपछि वितरण प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनेको शाखा प्रमुख बगालेले बताए । कुन सहकारीले कति मल बिक्री गर्‍यो र मौज्दात कति छ भन्ने विवरण प्रणालीमै देखिने भएकाले अनियमितता नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ छ ।

उनका अनुसार सहकारी संस्थाले दैनिक रूपमा आफ्नो बिक्री तथा मौज्दात विवरण अनलाइन प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा वितरण भएको छ । भरतपुरमा २३९.१५ टन युरिया, १९७.०५ टन डीएपी र २२.२२५ टन पोटास बिक्री गरिएको छ ।

त्यस्तै माडी नगरपालिकामा ११५ टन युरिया र ९.५ टन पोटास, खैरहनी नगरपालिकामा ९०.१ टन युरिया र १९.१ टन पोटास तथा रत्ननगर नगरपालिकामा ७३.९५ टन युरिया र २४.१ टन पोटास वितरण गरिएको छ । यसैगरी राप्ती नगरपालिकामा ६४.३ टन युरिया, ०.७ टन डीएपी र १०.२५ टन पोटास, कालिका नगरपालिकामा ४९ टन युरिया र १४ टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८.५ टन युरिया बिक्री भएको छ ।

कृषि सामग्री कम्पनीले आपत्कालीन अवस्थाका लागि राखिएको ‘बफर’ मौज्दातबाट समेत ८.२ टन युरिया र ४.०५ टन डीएपी वितरण गरेको जनाएको छ । धान रोपाइँको यो सिजनमा चितवनभर करिब २ हजार ५ सयदेखि ३ हजार टनसम्म रासायनिक मलको माग हुने अनुमान गरिएको छ । किसानलाई सहज रूपमा मल उपलब्ध गराउन आवश्यक मौज्दात व्यवस्थापन गरिएको कृषि सामग्री कम्पनी लिमिटेड भरतपुर शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij