राजेन्द्र आचार्य चितवन : चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली हात्ती ‘धुर्वे’लाई १० दिनको निरन्तर खोजीपछि डार्ट (बेहोस बनाउने औषधि प्रयोग) गरी सफलतापूर्वक स्याटेलाइट प्रविधिमा आधारित अत्याधुनिक रेडियो कलर जडान गरिएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार बुधबार राति करिब १० बजे सुकीभार पोस्टबाट करिब २०० मिटर पूर्व क्षेत्रमा धुर्वेलाई डार्ट गरी रेडियो कलर जडान गरिएको हो।
यस अभियानमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातसहित निकुञ्जका प्राविधिक तथा वन्यजन्तु व्यवस्थापन टोलीको सक्रिय सहभागिता रहेको थियो।
धुर्वे असार २१ गतेदेखि निगरानीबाट बाहिर रहेकाले निकुञ्जले निरन्तर खोजी अभियान सञ्चालन गर्दै आएको थियो। करिब १० दिनपछि उसको अवस्थिति पत्ता लगाएर सुरक्षित रूपमा डार्ट गरी रेडियो कलर जडान गर्न सफलता मिलेको प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए।
रेडियो कलर जडान भएसँगै अब धुर्वेको हरेक गतिविधि स्याटेलाइटमार्फत वास्तविक समयमा (रियल टाइम) निगरानी गर्न सकिनेछ। यसबाट हात्तीको आवतजावतको जानकारी समयमै प्राप्त हुने, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न तथा स्थानीय बासिन्दाको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन सहज हुने निकुञ्जको विश्वास छ। ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि यी दुई आमा–छोराको ज्यान लिएको थियो ।
प्रायः निकुञ्जको सुखीभार क्षेत्रमा रहने यो हात्ती अचानक बस्तीतर्फ निस्किएको थियो । घटनाको भोलिपल्ट ध्रुवे मेघौली क्षेत्रमा देखिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै मानवीय क्षति पुर्याउने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८ ०६९ सालतिर दैनिकजसो मानिसमाथि आक्रमण गर्न थालेपछि २०६९ साल पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले यसलाई मार्ने आदेश दिएको थियो ।
ध्रुवेले २०६९ सालको कात्तिकदेखि एक महिनाको अवधिमा माडी क्षेत्रमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि यसलाई मार्ने निर्णय गरिएको थियो ।
वि.सं. २०६६ साल माघदेखि मानिसमाथि आक्रमण गरी ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म -करिब तीन वर्षको अवधिमा) १५ जनाको ज्यान लिएको थियो । चितवनको माडी क्षेत्रमा यसको आतंक अत्यधिक थियो ।
धुर्वे हात्ती विगतदेखि नै चितवन तथा आसपासका क्षेत्रमा आतंकको पर्याय बन्दै आएको छ। यस हात्तीको आक्रमणबाट हालसम्म कयौं व्यक्तिले ज्यान गुमाइसकेका छन्, जसका कारण निकुञ्जले यसलाई विशेष निगरानीमा राख्ने उद्देश्यले रेडियो कलर जडान गरेको हो।