Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माडीका १३ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु

माडीका १३ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु

चितवन :  माडी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका १३ वटा सामुदायिक विद्यालयमा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरेको छ।

नगरपालिकाले ‘प्रधानाध्यापक नियुक्ति कार्यविधि–२०८३’ अनुसार योग्य स्थायी शिक्षकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

कक्षा ९ देखि १२ सम्म सञ्चालन भएका विद्यालयका लागि सोही विद्यालयमा कार्यरत समान तहका शिक्षकहरूले आवेदन दिन सक्नेछन्। कक्षा ६ देखि १० सम्म सञ्चालन भएका विद्यालयका हकमा भने नगरभित्रका अन्य विद्यालयका योग्य शिक्षकहरू पनि प्रतिस्पर्धामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकका लागि स्नातकोत्तर उत्तीर्ण वा शिक्षाशास्त्रमा स्नातक गरी कम्तीमा पाँच वर्षको शिक्षण सेवा गरेको हुनुपर्नेछ। आधारभूत तहका विद्यालयका लागि स्नातक वा प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा पाँच वर्षको सेवा अनुभव आवश्यक पर्नेछ।

आवेदनसँग आवश्यक शैक्षिक तथा सेवा सम्बन्धी कागजातका साथै विद्यालय विकास प्रस्तावसमेत पेश गर्नुपर्नेछ।

छनोट भएका प्रधानाध्यापकको कार्यकाल पाँच वर्षको हुनेछ। उनीहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा समग्र विद्यालय विकासको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij