चितवन : लगातारको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाएको छ। सोमबार साँझ ७:३० बजे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा सडकको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ। प्रशासनले काठमाडौं उपत्यकाबाट बाहिर यात्रा गर्ने योजना तत्काल स्थगित गर्न आग्रह गरेको छ। साथै, रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै काठमाडौंतर्फ यात्रा गरिरहेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरिएको छ। यात्रुहरूलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रा गर्दा खानेपानी, ड्राइ फुड, प्राथमिक उपचारका औषधि, एक–दुई सेट कपडा तथा मोबाइल चार्जरजस्ता अत्यावश्यक सामग्री साथमा राख्न पनि प्रशासनले सुझाव दिएको छ। मौसम प्रतिकूल रहेकाले अनावश्यक यात्रा नगरी सम्बन्धित निकायबाट प्राप्त हुने अद्यावधिक सूचनाको पालना गर्न आग्रह गरिएको छ। कुनै आपतकालीन अवस्था वा सहयोग आवश्यक परे नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल नेपाल (१११४), जिल्ला आपतकालीन सञ्चालन केन्द्र (१२३४) तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले सडकको अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ। पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेकाले सडक खुल्नेबारे थप जानकारी आधिकारिक सूचनामार्फत सार्वजनिक गरिने प्रशासनले जनाएको छ।